नुवाकोट — नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदी स्वास्थ्य चौकीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
ड्रिम पाथ फाउण्डेसन नेपालको आयोजनामा आगामी २०८२ साल चैत ७ र ८ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो। शिविर बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
आयोजकका अनुसार शिविरमा विभिन्न प्रकारका स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निःशुल्क रूपमा प्रदान गरिनेछ। शिविरमा स्त्री रोगसम्बन्धी सम्पूर्ण चेकजाँच, ल्याब सेवा, जनरल चिकित्सा सेवा, दन्त परीक्षण (डेन्टल सेवा), रेडियोलोजिस्ट सेवा, नाक–कान–घाँटी सम्बन्धी सेवा, पत्थरी, हाइड्रोसिल तथा हर्निया जस्ता समस्यासम्बन्धी जाँच तथा परामर्श, बालरोगसम्बन्धी चेकजाँच र आँखा सम्बन्धी जाँच सेवा उपलब्ध हुने आयोजकले जनाएको छ।
कार्यक्रममा स्थानीय संघ–संस्थाको पनि सहकार्य रहनेछ। शिविरमा डोङचे टोल सुधार समिति र घ्याङफेदी ऊर्जाशील युवा क्लब सह–आयोजकका रूपमा रहेका छन्।
दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ। आयोजकले स्थानीय बासिन्दालाई शिविरमा उपस्थित भई निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा लिन आग्रह गरेको छ।
























