सोलुखुम्बु — सोलुखुम्बुको महाकुलुङ गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा तिलगंगा आँखा प्रतिष्ठान, गौशाला काठमाडौंसँगको सहकार्यमा ७२ जना मोतिविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने भएको छ।
गत फागुन २५ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको संयुक्त स्वास्थ्य शिविरमा आँखाका बिरामीहरूको मोतिविन्दु सम्बन्धी स्क्रिनिङ गरिएको थियो। उक्त स्क्रिनिङमा छनोट भएका बिरामीहरूलाई अब निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्न लागिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार छनोटमा परेका बिरामीहरूको महाकुलुङ आधारभूत अस्पताल, बुङमा चैत १७ र १८ गते सञ्चालन हुने शिविरमार्फत शल्यक्रिया गरिनेछ। पालिकाका ५ वटै वडाबाट पहिचान भएका ७२ जना बिरामीमध्ये ५२ जना महिला र २० जना पुरुष रहेका छन्।
वडागत विवरण अनुसार वडा नं. १ र २ मा १३/३ जना, वडा नं. ३ मा २३ जना, वडा नं. ४ मा १५ जना र वडा नं. ५ मा ८ जना मोतिविन्दुका बिरामी पहिचान गरिएको छ।
महाकुलुङ गाउँपालिकाले दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी यस्ता स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमले आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

























