नुवाकोट — नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदी र शिवपुरी गाउँपालिका–१ विनडाँडामा सञ्चालन गरिएको ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
ड्रिम पाथ फाउण्डेसन नेपालको आयोजनामा २०८२ साल चैत ७ देखि ९ गतेसम्म सञ्चालन भएको उक्त शिविरबाट कुल ७८७ जना लाभान्वित भएका छन्।

लाभान्वितमध्ये दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीका ६०८ जना र शिवपुरी गाउँपालिका–१ का १७९ जना रहेका छन्। जसमध्ये ३९९ पुरुष र ३८८ महिला रहेका छन्।
आयोजकका अनुसार शिविरमा विभिन्न प्रकारका स्वास्थ्य परीक्षण तथा परामर्श सेवा निःशुल्क रूपमा प्रदान गरिएको थियो। शिविरमा स्त्रीरोगसम्बन्धी सम्पूर्ण चेकजाँच, ल्याब सेवा, जनरल चिकित्सा सेवा, दन्त सेवा, रेडियोलोजिस्ट सेवा, नाक–कान–घाँटी सेवा, पत्थरी, हाइड्रोसिल तथा हर्निया जस्ता समस्यासम्बन्धी जाँच तथा परामर्श, बालरोगसम्बन्धी चेकजाँच तथा आँखा परीक्षण सेवा उपलब्ध गराइएको थियो।

दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविर प्रभावकारी बनेको आयोजकले जनाएको छ।
शिविरमा दोङचे टोल सुधार समिति र घ्याङफेदी ऊर्जाशील युवा क्लब सह–आयोजकको भूमिका निर्वाह गरेका थिए ।
























