सोलुखुम्बु — महाकुलुङ गाउँपालिकामा कर्मचारीहरूले रक्तसमूह संकलन अभियान सञ्चालन गरेका छन्। “रक्तदान जीवनदान, सेवा नै धर्म” भन्ने सोचका साथ सुरु गरिएको उक्त अभियानअन्तर्गत हालसम्म ४५ जनाको रक्तसमूह विवरण संकलन गरी एक्सेल डाटामा दर्ता गरिएको छ।
संकलित रक्तसमूह विवरणले आपतकालीन अवस्थामा आवश्यक परे तत्काल सहयोग पुर्याउने उद्देश्य राखिएको छ। महाकुलुङ आधारभूत स्वास्थ्य केन्द्र बुङका डाक्टर कबिराज थुलुङ तथा गाउँपालिकाको CBR कार्यक्रमअन्तर्गत कार्यरत दिपेन्द्र घतानीले रक्तदान गरिसकेका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरिधन राईका अनुसार यस अभियानले पालिका भित्र रक्तदान तथा आपतकालीन स्वास्थ्य सेवामा सहजता ल्याउने विश्वास गरिएको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार संकलित रक्तसमूह विवरण विशेषगरी आपतकालीन अवस्थामा रहेका बिरामी, गर्भवती महिला, उच्च रक्तचाप भएका व्यक्तिहरू तथा वृद्धवृद्धालाई समयमै उपचार उपलब्ध गराउन सहयोगी हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाले यो मानव सेवासँग जोडिएको अभियानमा सबैलाई सहभागी हुन तथा आफ्नो रक्तसमूह विवरण उपलब्ध गराउन आग्रह गरेको छ।
























