काठमाडौं । नेपाली लोककला, साहित्य तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासमा क्रियाशील राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले राष्ट्रिय धान दिवस (असार १५) को अवसरमा धान रोपाइँ तथा दही–चिउरा कार्यक्रम आयोजना गर्ने भएको छ।
संस्थाले गोकर्णेश्वर नगरपालिका र सांस्कृतिक संस्थान को सहकार्यमा आगामी असार १५ गते काठमाडौंको गोकर्णेश्वर ७ शिवचोकमा धान रोपाइँ तथा सामूहिक दही–चिउरा खाने कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष चन्द्रमणि गौतमले जानकारी दिए ।
वि.सं. २०६५ सालदेखि निरन्तर रूपमा लोकसंस्कृति, साहित्य र परम्पराको संरक्षणमा सक्रिय राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपाली मौलिक संस्कृति, कृषि परम्परा तथा सामुदायिक सद्भावको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको जनाएको छ।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, परम्परागत धान रोपाइँ तथा सहभागीहरूबीच सामूहिक रूपमा दही–चिउरा खाने व्यवस्था गरिने सचिव कमल सरगमले जनाए । यस कार्यक्रमले कृषि संस्कृतिप्रति नयाँ पुस्ताको आकर्षण बढाउनुका साथै नेपाली मौलिक परम्पराको जगेर्नामा योगदान पुग्ने विश्वास लिइएको छ।
असार १५ लाई नेपालभर राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका रूपमा मनाइँदै आएको छ। यस अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको गोविन्द शर्मा स्मृति पत्रकारिता पुरस्कार गर्ने तयारी गरिएको छ । नगद ५,५५५ रुपैयाँ सहितको पत्रकारिता पुरस्कार राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका पूर्व उपाध्यक्ष समेत रहेका रेडियो नेपालमा कार्यरत सञ्चारकर्मी तथा गीतकार राम थापा अविरललाई प्रदान गरिने सस्थाका प्रवक्ता शिखर गजरकोटेले जानकारी दिए ।
व्यक्ति प्रोफाइल: राम थापा ‘अविरल’
राम थापा अविरल नेपाली सञ्चार, साहित्य र सङ्गीत क्षेत्रका एक प्रतिष्ठित, बहुआयामिक तथा सम्मानित व्यक्तित्व हुनुहुन्छ। वि.सं. २०३३ साल माघ ८ गते गुल्मी जिल्लामा जन्मनुभएका उहाँ विगत साढे दुई दशकभन्दा लामो समयदेखि नेपाली सञ्चार क्षेत्र र सुगम सङ्गीतको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ। साहित्यिक तथा सांगीतिक क्षेत्रमा ‘राम अविरल’ नामबाट परिचित उहाँको आधिकारिक नाम राम थापा हो।
सञ्चार यात्रा
राम थापा ‘अविरल’ले आफ्नो व्यावसायिक सञ्चार यात्रा वि.सं. २०५५ साल भदौ २९ गतेबाट रेडियो नेपालमा प्रारम्भ गर्नुभएको हो। २०५५ सालको माघ महिनादेखि ‘सुखद शुक्रबार’ कार्यक्रमअन्तर्गत प्रसारित नाटक शृङ्खलाबाट उहाँको आवाज पहिलोपटक श्रोतामाझ पुगेको थियो। त्यसयता उहाँले २५ वर्षभन्दा बढी समय रेडियो नेपालमा सेवा दिँदै सयौँ कार्यक्रम सञ्चालन गर्नुभएको छ।
उहाँद्वारा सञ्चालित ‘गजल गङ्गा’, ‘समर्पण’, ‘सङ्गीत सागर’, ‘गोधूलि’, ‘इन्द्रेणी’ तथा ‘चलचित्र स्रष्टा’ जस्ता कार्यक्रमहरू नेपाली श्रोतामाझ अत्यन्त लोकप्रिय बनेका छन्। सुमधुर आवाज, शालीन प्रस्तुति शैली र नेपाली भाषा, साहित्य तथा संस्कृतिप्रतिको समर्पणका कारण उहाँ रेडियो नेपालका चर्चित प्रस्तोतामध्ये एकका रूपमा स्थापित हुनुहुन्छ।
गीतकारका रूपमा योगदान
राम थापा ‘अविरल’ नेपाली सुगम सङ्गीत क्षेत्रमा तीन दर्जनभन्दा बढी गीतहरूको सिर्जना गरिसक्नुभएका सफल गीतकार हुनुहुन्छ। उहाँका गीतहरूमा प्रेम, विरह, मानवीय संवेदना तथा जीवनका विविध अनुभूतिहरूको सशक्त अभिव्यक्ति पाइन्छ।
उहाँका चर्चित गीतहरूमध्ये:
* “सुन्छु तिमीले मलाई भुल्नै आँटेकी छौ रे…”
* “धर्ती आकाश जस्तै भयौ मिलन अब हुने छैन…”
* “जिन्दगी नै बन्दकी छ कुन खुसीको कुरा गरौं…”
* “प्वाट्टै फुटोस् मुटु मेरो, च्वाट्टै चुडोस् घाँटी…”
विशेष रूपमा लोकप्रिय छन्। उहाँका शब्दहरूमा साहित्यिक गहिराइ र जनजीवनको संवेदना स्पष्ट रूपमा झल्किन्छ।
संस्थागत तथा सामाजिक योगदान
राम थापा ‘अविरल’ नेपाली स्रष्टाहरूको हकहित तथा प्रतिलिपि अधिकार संरक्षणका क्षेत्रमा पनि सक्रिय रहँदै आउनुभएको छ। उहाँ नेपाल सरकारबाट मान्यता प्राप्त ‘सङ्गीत रोयल्टी सङ्कलन समाज नेपाल’का संस्थापक सदस्यमध्ये एक हुनुहुन्छ। स्रष्टाहरूको अधिकार संरक्षण र सङ्गीत क्षेत्रको संस्थागत विकासमा उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।
सम्मान तथा पुरस्कार
सञ्चार, साहित्य र सङ्गीत क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप उहाँ विभिन्न राष्ट्रिय सम्मानबाट सम्मानित हुनुभएको छ।
* म्युजिक खबर स्रष्टा सम्मान – २०७९
* जिनियस सञ्चार सम्मान – २०८०
* सा रे ग म कला पत्रकारिता सम्मान – २०८१
* सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालको विशेष सम्मान
लगायतका प्रतिष्ठित सम्मानहरू उहाँले प्राप्त गर्नुभएको छ।
राम थापा ‘अविरल’ नेपाली सञ्चार, साहित्य र सङ्गीत क्षेत्रका एक समर्पित साधक, कुशल प्रस्तोता, सक्षम गीतकार तथा स्रष्टा अधिकारका पक्षधर व्यक्तित्व हुनुहुन्छ। रेडियो नेपालको माध्यमबाट हजारौँ श्रोताको मन जित्दै नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उहाँले पुर्याउनुभएको योगदान प्रेरणादायी, अनुकरणीय र ऐतिहासिक महत्त्वको रहेको छ। उहाँ नेपाली सञ्चार र सङ्गीत जगत्का एक सम्मानित र अविस्मरणीय नाम हुनुहुन्छ।

























