काठमाडौं । म्युजिक खबर म्युजिक अवार्डको १३औँ संस्करणमा नेपाली संगीत क्षेत्रका विभिन्न स्रष्टा, कलाकार तथा सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ। आगामी असार १४ गते राजधानीको बालुवाटारस्थित आम्रपाली बैंक्वट एण्ड इभेन्टमा आयोजना हुने समारोहमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा लाई ‘म्युजिक खबर दीर्घ साधना सम्मान–२०८२’ अर्पण गरिने भएको छ।
कार्यक्रमकी संयोजक सबिता पोखरेलका अनुसार सम्मानित व्यक्तित्वहरूमध्ये गीतकार उन्नति बोहरा शीला, विजय शिवाकोटी, गायक शिव परियार, गायिका कालिका रोका, गीतकारद्वय पुरुषोत्तम सानु र सुशिला पौडेल तथा सञ्चारकर्मी कुबेर गिरी र गोपिकृष्ण चापागाईं समेत रहेका छन्।
पाँच दशकभन्दा बढी समय नेपाली गीत–संगीतमा समर्पित शम्भुजित बास्कोटाले हजारौँ गीतमा संगीत भरेका छन् भने सयौँ गीत सुपरहिट भएका छन्। ‘रातो रानी फुलेझैँ साँझमा’, ‘मायाले बाँध तिमी मलाई’, ‘तिम्रो त्यो हँसिलो मुहारको’, ‘पूर्णिमाको रात पनि’ र ‘चट्ट रुमाल क्या मालुम’ लगायतका चर्चित गीतमा उहाँको संगीत रहेको छ। उहाँलाई नगद ५१ हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्लासहित ‘म्युजिक खबर दीर्घ साधना सम्मान’ प्रदान गरिनेछ।
यसैगरी, नेपाली गीत–संगीतमा उल्लेखनीय योगदान पुर्याएकी गीतकार उन्नति बोहरा शीलालाई ‘म्युजिक खबर शब्द शीला विशिष्ट सम्मान’ प्रदान गरिने भएको छ। ‘फर्की आउ शान्ति तिमी’ जस्ता चर्चित गीतकी सर्जक शीला आधुनिक गीत, चलचित्र गीत तथा साहित्यिक सिर्जनाका लागि परिचित हुनुहुन्छ।
बरिष्ठ गीतकार विजय शिवाकोटीलाई ‘म्युजिक खबर रजत संगीत सम्मान–२०८२’ प्रदान गरिने भएको छ। २०४३ सालदेखि सांगीतिक क्षेत्रमा सक्रिय उहाँका ‘मेरो गीत मन पराउँछ्यौ’, ‘बिहानी शीत बनी’, ‘किन किन’ र ‘भिजाएर आँशु’ लगायतका गीत चर्चित छन्।
त्यस्तै गायक शिव परियार र गायिका कालिका रोकालाई ‘म्युजिक खबर दशकको संगीत सम्मान’ प्रदान गरिने भएको छ। दुई दशकभन्दा लामो समयदेखि सक्रिय शिव परियारका ‘पिउँदिन भन्दा भन्दै’, ‘आँशुको अर्थ के थाहा’ र ‘ज्यानै दिन्छु भन्थे’ जस्ता गीत लोकप्रिय छन्। लोकदोहोरी गायिका कालिका रोकाले ‘निरमसी’, ‘मुग्लिन पुल तरी’, ‘देउरालीमा धजा’ लगायतका गीतमार्फत नेपाली लोकसंगीतमा विशेष योगदान पुर्याएकी छन्।
त्यसैगरी गीतकार सुशिला पौडेल र पुरुषोत्तम सानुलाई पनि ‘म्युजिक खबर दशकको संगीत सम्मान’ प्रदान गरिनेछ। गीतकार पुष्पा खनाललाई ‘म्युजिक खबर डायस्पोरा संगीत सम्मान–२०८२’ तथा बालकलाकार युनिश घिमिरे लाई ‘म्युजिक खबर बालप्रतिभा सम्मान–२०८२’ प्रदान गरिने भएको छ।
समारोहमा गायक, संगीतकार तथा चिकित्सक डा. रणजित झा लाई ‘म्युजिक खबर संगीतकर्मी सम्मान–२०८२’ तथा वरिष्ठ सञ्चारकर्मी उदयराज शर्मा लाई ‘म्युजिक खबर सञ्चारकर्मी सम्मान–२०८२’ प्रदान गरिने आयोजकले जनाएको छ।
यस्तै पत्रकार कुबेर गिरी र गोपिकृष्ण चापागाईंलाई ‘म्युजिक खबर संगीत पत्रकारिता सम्मान’ प्रदान गरिनेछ। नेपाली कला, चलचित्र, गीत–संगीत तथा संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै म्युजिक खबरले आफ्नो १३औँ संस्करणलाई विशेष बनाउने तयारी गरेको जनाएको छ।

























