काठमाडौं । जय मातृभूमि पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक पार्टीका अध्यक्ष श्री सुरेश कुमार कार्कीको अध्यक्षतामा केन्द्रीय कार्यालय आमा घरमा बस्यो । केन्द्रीय कार्य सम्पादन समितिको बैठकले विविध एजेण्डामा गम्भिर छलफल गर्दै पार्टीका प्रत्यक्ष तर्फको उम्मेदवार छनौटका विधि प्रक्रियाहरु पारित गरेको छ ।
समाजमा स्वच्छ छवि भएका पार्टीका नीति तथा कार्यक्रमलाई जनता सामु लिएर जान सक्ने जुझारु देश भक्त, इमान्दार र राष्ट्रियता प्रति पुर्ण प्रतिवद्ध व्यक्तिहरुलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । हालसम्म विभिन्न निर्वाचन क्षेत्रहरुबाट प्राप्त भएका नामहरुउपर बैठकले गम्भिर छलफल गर्दै पार्टीको संगठन निर्माण, निर्वाचन लक्षित पार्टीको प्रचार प्रसार तथा जनजागरण कार्यक्रमको लागि निम्न सदस्यहरु रहने गरी ७ प्रदेशमा संयोजन समिति समेत गठन गरेको पार्टीको महासचिव गोविन्द गिरीले जानकारी दिनु भयो ।

कोशी प्रदेशको लागि सह—अध्यक्ष रामशरण पाण्डेको संयोजकत्वमा वरिष्ठ नेता क्या.के.वि. लिम्वु र उपाध्यक्ष पूर्व डि.आइ.जि.उत्तम कुमार कार्की, मधेस प्रदेशमा अध्यक्ष सुरेश कुमार कार्कीको संयोजकत्वमा उपाध्यक्ष राज कुमार यादव, सदस्य (पूर्व कर्णेल) कामेश्वर यादव र सदस्य अनिल पटेल, बागमती प्रदेशमा वरिष्ठ उपाध्यक्ष रोमलाल गिरीको संयोजकत्वमा उपाध्यक्ष आर.के.ढकाल, महासचिव गोविन्द गिरी, उप—महासचिव कृष्णराज राई, कोषाध्यक्ष आनन्द सिंखडा र सदस्य महाबिर मल्लि, लुम्बिनी प्रदेशको लागि सचिव भानु के.सी.को संयोजकत्वमा प्रवक्ता डा.खेम बहादुर क्षेत्री, कर्णाली प्रदेशको लागि अध्यक्ष सुरेश कुमार कार्कीको संयोजकत्वमा सदस्य पदम आचार्य, सुदुर पश्चिम प्रदेशको लागि अध्यक्ष सुरेश कुमार कार्कीको संयोजकत्वमा उपमहासचवि लक्ष्मीदक्त भट्ट र सदस्य अभिषेक सिंहलाई जिम्मेवारी तोकिएको छ । समसामयिक बिषय र पार्टी एकता भएको जानकारीका लागि पार्टीले यही पौष २४ गते प्रेशमिट गर्ने निर्णय गरेको छ ।
यसैविच जय मातृभूमि पार्टीले वर्तमान संकटको निकाशको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको जोडदार माग गर्दै आएको छ । प्रदेश पुनर्संरचना सहित स्थानीय तहको सशक्तिकरण गरी सुदृढ र थप अधिकार सम्पन्न स्थानीय तहको व्यवस्था, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, रोजगारी सिर्जना, सबै खाले भ्रष्टाचार काण्डहरुको नागरिक अनुसन्धान आयोग बनाई आवस्यक कारबाही साथै सम्पति राष्ट्रियकरण गर्ने एजेण्डा अघि सारेको छ। जय मातृभूमि पार्टीको चुनाव चिन्ह आमा (बच्चा काखमा लिएको आमा) रहेको छ।
























