काठमाडौँ । ट्राफिक सप्ताहको अवसर पारेर काठमाडौँको गोकर्णेश्वर नगरपालिकाको नारायण टार पुलको दुवै मोहडामा राखिएको ट्राफिक लाइट उद्घाटन गरिएको छ । करिब २५ लाख लागतमा राखिएको ट्राफिक लाइट बुधवार प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले उद्घाटन गरेका हुन् ।
सवारी जाम व्यवस्थापनका लागि यसअघि नगरपालिकाले जोरपाटी र हनुमान चोकमा ट्राफिक लाइट सञ्चालनमा ल्याइसकेको गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसालले जानकारी दिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नागरिक चेतना प्रमुख रहेको बताउँदै भौतिक संरचना मात्रै विकास नभएको बताए ।

गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसालले ट्राफिक लाइट सञ्चालनमा ल्याएपछि सवारी जाम कम भएको प्रतिक्रिया नागरिक तहबाटै पाएको बताए ।
ट्राफिक प्रहरीका एसएसपी नवराज अधिकारीले प्रहरी र ट्राफिक प्रहरीको कामलाई सहजीकरणको लागि गोकर्णेश्वर नगरपालिका नमुना स्थानीय तह रहेको भन्दै धन्यवाद दिए ।

गोकर्णेश्वरका उपमेयर सान्नानी लामाले शान्ति सुरक्षा र सडक सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर नगरपालिकाले सहकार्य र लगानी गर्दै आएको बताइन् ।
ट्राफिक सप्ताहको पाँचौँ दिन आयोजित कार्यक्रममा बाजासहित ट्राफिक नियम पालनका लागि सचेतनामूलक प्लेकार्ड सहित जनप्रतिनिधि, ट्राफिक प्रहरी एवम् सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

























