१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

महाकुलुङ ५ पूर्ण खोप सुनिश्चितता वडा घोषणा


२९ फाल्गुन २०८२, शुक्रबार  

10
Shares

सोलुखुम्बु । महाकुलुङ गाउँपालिका–५ मा “पूर्ण खोप, सुरक्षित भविष्य” भन्ने नारासहित पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ। स्वास्थ्य चौकी गुदेलमा आयोजित कार्यक्रम स्वास्थ्य चौकी गुदेल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष महल सिंह राईको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत खरिधन राईको प्रमुख आतिथ्यतामा घोषणा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको मुख्य उद्देश्य १५ महिनामुनिका बालबालिकालाई नियमित खोप प्रदान गर्दै पूर्ण खोप सुनिश्चित गर्नु र १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा खोपको सुनिश्चितता कायम गर्नु रहेको थियो। सोही अनुसार वडा नं. ५ मा रहेका सबै बालबालिकालाई खोप लगाइएपछि वडा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।

तथ्यांकअनुसार ० देखि ११ महिनासम्मका ११ जना, १२ देखि १५ महिनासम्मका ३ जना, १६ देखि २३ महिनासम्मका ७ जना र २४ देखि ५९ महिनासम्मका ४९ जना बालबालिकालाई खोप प्रदान गरिएको छ। वडाभित्र खोप लगाउन छुटेका वा शून्य डोज लिएका बालबालिका नभएको गाउँपालिकाले जनाएको छ।

यसैबीच महाकुलुङ गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा पनि स्थानीयले सेवा लिएका छन्। स्वास्थ्य चौकी गुदेलमा सञ्चालन गरिएको उक्त शिविरबाट कुल २३४ जनाले सेवा लिएका छन्। जसमा ६४ जना पुरुष र १७३ जना महिला रहेका छन्।

स्वास्थ्य शाखा संयोजक हरिप्रसाद आचार्यका अनुसार शिविरमार्फत स्थानीय नागरिकलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गरिएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  १० : ४९ बजे