२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

मधेशका लोक सञ्चारकर्मीको वनभोज, एकता र सहकार्य सुदृढ गर्ने सन्देश



राष्ट्रिय लोक सञ्चारकर्मी मधेश प्रदेश कमिटीद्वारा आयोजित वनभोज तथा भेटघाट कार्यक्रम रौतहटको धार्मिक तथा पर्यटकीय क्षेत्र नुनथरस्थित शिव मन्दिर परिसरमा भव्य रूपमा सम्पन्न भएको छ।

चैत २८ गते शनिबार आयोजित उक्त कार्यक्रममा मधेश प्रदेशका सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले सञ्चारकर्मीहरूबीच आपसी एकता, सहकार्य र पेशागत सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य राखेको आयोजकले जनाएको छ।

कार्यक्रम राष्ट्रिय लोक सञ्चारकर्मी मधेश प्रदेशका अध्यक्ष क्षितिज विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा उपाध्यक्ष सुशिला पोखरेल चौलागाई, कोषाध्यक्ष श्रवण प्रसाद साह, सचिव प्रफुल्ल मिश्र, प्रचार–प्रसार विभाग प्रमुख कुलदिप दास, महिला विभाग प्रमुख आरती सेन्चुरी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवातमा परिचयात्मक सत्र सञ्चालन गरिएको थियो भने त्यस क्रममा संस्थाको हालसम्मको गतिविधि र आगामी योजनाबारे छलफल गरिएको थियो।

सञ्चारकर्मीहरूले पत्रकारिताको वर्तमान अवस्था, पेशागत हकहित र स्वतन्त्र पत्रकारिताको संरक्षणका विषयमा पनि विचार–विमर्श गरेका थिए।

कार्यक्रमले सञ्चारकर्मीहरूबीचको सम्बन्ध मजबुत बनाउँदै साझा उद्देश्यका साथ अघि बढ्न प्रेरणा दिएको सहभागीहरूको भनाइ छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  १० : ५८ बजे