११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

महाकुलुङमा निःशुल्क स्वास्थ्य शिविर : ११८९ जनाले सेवा लिए



सोलुखुम्बु — महाकुलुङ गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा फागुन २५ देखि २९ गतेसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट कुल १ हजार १ सय ८९ जनाले सेवा लिएका छन्। शिविरमा सेवा लिनेहरूमध्ये ८५१ जना महिला र ३३८ जना पुरुष रहेका छन्।

वडा अनुसार सेवा लिनेको विवरण हेर्दा वडा नं. १ स्थित महाकुलुङ आधारभूत अस्पतालमा २४५ जना (महिला १७१, पुरुष ७४), वडा नं. २ पेल्माङ आधारभूत स्वास्थ्य केन्द्रमा १३७ जना (महिला ९१, पुरुष ४६), वडा नं. ३ छेस्काम स्वास्थ्य चौकीमा ३६५ जना (महिला २८१, पुरुष ८४), वडा नं. ४ तुमाऊ आधारभूत स्वास्थ्य केन्द्रमा २०५ जना (महिला १३५, पुरुष ७०) तथा वडा नं. ५ मा २३७ जना (महिला १७३, पुरुष ६४) ले स्वास्थ्य परीक्षण गराएका छन्।

शिविरअन्तर्गत सञ्चालन गरिएको प्रजनन स्वास्थ्य कार्यक्रममा २४ जना महिलामा पाठेघरसम्बन्धी समस्या (VIA पोजेटिभ) देखिएको छ भने ९ जना महिलामा आङ खस्ने समस्या (चौथो डिग्री) पहिचान गरिएको छ।

त्यस्तै आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत ८२ जनामा मोतिबिन्दु र १११ जनामा दृष्टिदोष समस्या देखिएको छ। नसर्ने रोगतर्फ १०५ जनामा उच्च रक्तचाप तथा १५६ जनामा मधुमेह (चिनी रोग) को पहिचान गरिएको छ। मिर्गौलासम्बन्धी रोगको स्क्रिनिङका क्रममा ८ जनामा समस्या देखिएको छ।

क्षयरोग कार्यक्रमअन्तर्गत ६८९ जनाको एआई प्रविधिबाट एक्स–रे स्क्रिनिङ गरिएको छ। यस क्रममा २३ जना शंकास्पद बिरामीको नमुना जीन–एक्सपर्ट परीक्षणका लागि पठाइएको छ भने १८ जनाको खकार नमुना संकलन गरिएको छ।

आङ खसेका ९ जना महिलालाई फाप्लुस्थित जिल्ला अस्पतालमा सञ्चालन हुने क्याम्पमार्फत निःशुल्क शल्यक्रियाका लागि सिफारिस गरिएको छ। साथै मोतिबिन्दुका बिरामीहरूको शल्यक्रियाका लागि महाकुलुङ आधारभूत अस्पतालमै उपचार व्यवस्थापन गर्न तिलगंगा आँखा प्रतिष्ठान सँग समन्वय गरिएको गाउँपालिकाले जनाएको छ।

शिविर सफल बनाउन खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी तथा कर्मचारीलाई धन्यवाद दिँदै स्वास्थ्य शाखा संयोजक हरि प्रसाद आचार्यले यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्‍याउन ठूलो सहयोग पुगेको बताए।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ६ : २१ बजे