११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

‘माया हिरिक्कै’ सार्वजनिक : पल शाह–सुनितामीको रोचक प्रेमकथा



काठमाडौं — लोकप्रिय गायक बसन्त थापा र गायिका सुनितामी परियारको नयाँ लोकदोहोरी गीत ‘माया हिरिक्कै’ सार्वजनिक भएको छ। गीत गायिका सुनितामीकै युट्युब च्यानलमार्फत शुक्रबार साँझ सार्वजनिक गरिएको हो।

गीतको कथावस्तु रोचक प्रेमकथामा आधारित छ। नायक पल शाह केही वर्षपछि गाउँ फर्किँदा आफ्नै प्रेमिका सुनितामीलाई चिन्न सक्दैनन्। त्यसपछि उत्पन्न हुने रिस–मनमुटाव र प्रेमिल फकाइका दृश्यहरू गीतमा प्रस्तुत गरिएको छ।

गीतको अडियो पक्षमा नवराज पन्तको शब्द, बसन्त थापाकै संगीत तथा श्यामश्वेत रसाइलीको एरेन्ज रहेको छ।

भिडियोतर्फ गम्भिर बिष्टको निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा पल शाह र सुनितामी परियार स्वयंले अभिनय गरेका छन्। पवन सुस्लिङको टिमले छायांकन गरेको भिडियो प्रविन भट्टले सम्पादन गरेका हुन् भने कोरियोग्राफी प्रशान्त मगरले गरेका छन्।

सार्वजनिक भएपछि गीतले दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। गायिका सुनितामीले आफ्नो यो लोकलयको गीतलाई दर्शक–स्रोताले मन पराउने विश्वास व्यक्त गरेकी छन्।

वि.सं. २०६६ सालमा ‘भिरमा लर्क्यो खरमा’ गीतबाट सांगीतिक यात्रा सुरु गरेकी सुनितामीले हालसम्म झण्डै ९ सय गीतमा स्वर दिइसकेकी छन्। उनका ‘रुमाल साट्न पर्दैन’, ‘साईली रिमै’, ‘अभागी त म हुँ’, ‘ढुङ्गा जस्तो मन’ र ‘मेरो बुडाको के मिलेन’ लगायतका गीतहरू चर्चित छन्।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ७ : ०६ बजे