११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

‘स्टेज फर आइडल’को ग्रान्ड फिनाले चैत १७ मा काठमाडौंमा हुने



काठमाडौँ । डिजिटल प्लेटफर्म टिकटक मार्फत सुरु भएको स्टेज फर आइडलको ग्राण्ड फिनाले काठमाडौंको जमलस्थित राष्ट्रिय नाँच घरमा आगामी चैत १७ अर्थात ३१ मार्चमा हुने भएको छ ।

‘द सिक्थ आइज वान’ को आयोजनामा विश्वभर छरिएर रहेका नेपाली भाषिक समुदायका गायन र नृत्यका प्रतिभालाई उजागर गर्ने उदेश्यले स्टेज फर आइडलका टप ९ सम्मका प्रतियोगी उपस्थित गराइने भएको हो । जसमध्ये एक जना प्रतियोगीले अमेरिकाबाट डिजिटल प्लेटफर्म टिकटकमार्फत आफ्नो प्रस्तुति दिने आयोजकले बताएको छ । शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको थियो ।

डिजिटल अडिसन मार्फत १८० प्रतियोगीमध्ये गायनमा ४ र नृत्यमा ५ जना ग्राण्ड फिनालेका लागि छनौट गरिसकिएको कार्यक्रम निर्देशक सुविला लामाले जानकारी दिइन् । जसमा गायन तर्फ प्रयुसा न्यौपाने, श्याम भण्डारी, दिनेश भारती र महिमा विश्वकर्मा छन् भने नृत्य तर्फ अनिल सुनुवार, उत्पल गुरुङ, अलोन राई, मिलन पुनमगर र खुस्बु चौधरी रहेका छन् ।

नायिका करिष्मा मानन्धर प्रमुख अथिति रहने उक्त ग्राण्ड फिनाले कार्यक्रममा गायिकाहरु सुकमित गुरुङ, कुन्ति मोक्तान, संगिता राना प्रधान र देबिका बन्दना यसैगरि अथिति कलाकारहरु दिक्पाल कार्की, यसराज गराज, सन्तु तामाङ, शिव ढकाल, ऋतु राना, बिमला खुजुम लिम्बु, ऋचा थापा र संगीतकार बिकास चौधरीको उपस्थिति रहने अर्का कार्यक्रम निर्देशक मनोज गुरुङले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

नृत्यको जजमा वरिष्ठ नृत्य निर्देशक कमल राई र राजु शाह छन् भने गायनको मुख्य निर्णायकमा वरिष्ठ गायिक लावनी चक्रवर्ती र गायक मिग्मा शेर्पा रहेका छन्। गायन र नृत्यतर्फका प्रथम, द्वितीय र तृतीय हुने प्रतिभाले सम्मानसहित क्रमश: एक लाख, ५० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। शीर्ष विजेताले गीत रेकर्ड र नृत्यमा विजेता हासिल गर्ने प्रतिभाले सोही गीतको म्युजिक भिडियोमा डेब्यु गर्ने साथै दुवै विजेताले मोडलिङको अवसरसमेत प्रदान गरिने निर्देशक लामाले बताइन् ।

पत्रकार सम्मेलनमा कार्यक्रम निर्देशक मनोज गुरुङले टिकटकलाई केबल मनोरञ्जनको प्लेट फर्ममा सिमित नराखी प्रतिभा प्रस्फुटनको गतिलो माध्यम बनाउन सकिन्छ भन्ने सन्देशका लागि पनि ‘स्टेज फर आइडल’उदाहरण बन्ने विचार व्यक्त गरे । उनले भौतिक रूपमा उपस्थित भएरै प्रतिभा उजागर र मूल्याङ्कन गर्न सकिने भएकाले पनि आफू १६ वर्षपछि नेपाल फर्कीएको बताउँदै यस अवसर दिएकोमा स्टेज फर आइडल र द सिक्थ आइज वान टिमलाई विशेष धन्यबाद दिए ।

‘स्टेज फर आइडल’को निर्देशकीय टिममा सुविला लामा, मनोज गुरुङ, बन्दना जी.मोमिन राम कैलाश थापा, निमा तामाङ, डिबि तामाङ र डोल बहादुर थापा रहेका छन् । विभिन्न देशमा रहि सामाजिक सेवामा काम गर्दै आएका आयोजकहरुले यो उकृष्ट प्लेटफर्म मार्फत विश्वभर छरिएर रहेका प्रतिभाहरुलाई समेट्ने उदारणीय काम गरेका हुन्। प्रतियोगितामा भोटिङ राउन्ड राखिएको छैन । खर्च गर्न सक्ने प्रतिभाले मात्रै अघि बढ्ने र वास्तविक प्रतिभा ओझेलमा पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै भोटिङको आधारमा जज गर्ने विधि अवलम्बन नगरिएको आयोजकले जनाएको छ ।

आगामी चैत्र १७ गत मंगलवार काठमाडौंको जमलस्थित राष्ट्रिय नाँच घरमा हुने ‘स्टेज फर आइडल’ ग्राण्ड फिनाले शो हेर्न कुनैपनि शुल्क नलाग्ने आयोजकले बताएको छ भने उपस्थित हुन नसक्ने दर्शकहरुले ‘स्टेज फर आइडल’को अफिसियल टिकटक लाइभबाट विश्वभर हेर्न सकिने बताइएको छ। उपत्यका बाहिरबाट प्रतियोगितामा भाग लिन आउने प्रतियोगीलाई खाना, बस्न साथै यातायातको प्रवन्ध आयोजक स्वंयले गरेको बताइएको छ ।

टिकटकको प्लेटफर्ममा गरिने प्रतियोगितामध्ये स्टेज फर आइडललाई स्तरीय र अरु भन्दा भिन्न प्रतियोगिताको रूपमा स्थापित गराउने उदेश्यले नेपालमा ग्राण्ड फिनाले आयोजना गरेको आयोजकको दाबी छ ।आयोजकका अनुसार डिजिटल प्लेटफर्म मार्फत गरिने यस्ता कार्यक्रम भौतिक रुपमा उपस्थित भइ गरिने यो पहिलो र नौलो भएको बताएको छ ।

छिट्टै ‘स्टेज फर आइडल’ सिजन-२ ल्याउन लागेको बताउँदै निर्देशक सुविला लामाले लुकेर बसेका नयाँ प्रतिभाहरुलाई यस रियालिटी शो मा सहभागिता हुन सबैलाई आव्हान गरेकी छिन्।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ८ : २३ बजे