११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

महाकुलुङ गाउँपालिकामा सार्वजनिक सुनुवाइ हुने



सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत स्वीकृत बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

गाउँ कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार चालु आर्थिक वर्षमा सञ्चालन भइरहेका योजना, कार्यक्रम तथा कार्यसम्पादनको समग्र अवस्थाबारे स्थानीय नागरिकलाई जानकारी गराउने तथा सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, समाजसेवी, उपभोक्ता समिति, स्थानीय संघसंस्था, पत्रकार तथा सर्वसाधारण नागरिकलाई उपस्थित भई आफ्ना प्रश्न, जिज्ञासा तथा सुझाव राख्न आग्रह गरिएको छ।

यसैगरी, कार्यक्रमसँगै गाउँपालिकाबाट वितरण गर्न बाँकी रहेका राष्ट्रिय परिचयपत्र समेत सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिने जनाइएको छ।

कार्यक्रम तालिका:

मिति २०८२/१२/१५
• वडा नं. ५ – बिहान ९ बजे (वडा कार्यालय)
• वडा नं. ४ – दिउँसो १ बजे (वडा कार्यालय)

मिति २०८२/१२/१६
• वडा नं. ३ – बिहान ९ बजे (वडा कार्यालय)
• वडा नं. २ – दिउँसो १ बजे (वडा कार्यालय)

मिति २०८२/१२/१७
• वडा नं. १ – बिहान ९ बजे (वडा कार्यालय)
• गाउँपालिका स्तर – दिउँसो १ बजे (गाउँपालिका कार्यालय)

गाउँपालिकाले सरोकारवालाहरूको सक्रिय सहभागिताले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १० : ०९ बजे