१५ जेष्ठ २०८३, शुक्रबार | Fri May 29 2026

साउन १ गतेदेखि प्रदर्शनमा आउने ‘गौथली’को टिजर सार्वजनिक


१५ जेष्ठ २०८३, शुक्रबार  

6
Shares

काठमाडौं । साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘गौथली’को टिजर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक टिजर ओएसआर डिजिटलमा हेर्न सकिन्छ।

नेपाली चलचित्र क्षेत्रमा ‘गौथली’ एक भावनात्मक र स्थापित नामका रूपमा परिचित छ। प्रतिष्ठित चिकित्सक डा. भोला रिजालको कथामा झण्डै दुई दशकअघि निर्माण भएको ‘गौथली’ प्रदर्शनको ५१औँ दिन मनाउन सफल भएको थियो। अब सोही विरासतलाई निरन्तरता दिँदै नयाँ स्वरूपमा चलचित्र पुनः दर्शकमाझ आउन लागेको हो।

चलचित्रको निर्देशन डा. कपिल रिजालले गरेका हुन्। यसअघि उनले अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत चलचित्र ‘ह्यारीकी प्यारी’ निर्देशन गरिसकेका छन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा सरला रिजाल कार्यकारी निर्माता रहेकी छन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा रहेका छन्।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले लेखेका हुन्।

चलचित्रमा नायक अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्काको मुख्य भूमिका रहेको छ। उनीहरूसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीलगायत कलाकारको अभिनय रहेको छ। साथै बाल कलाकार अंशु ओली र प्रिन्स नेपाली पनि चलचित्रमा देखिनेछन्।

निर्माण पक्षका अनुसार ‘गौथली’ शब्दको प्रतीकात्मक अर्थ घर, परिवार र आपसी सामीप्यसँग जोडिएको छ, जसले चलचित्रको भावनात्मक पक्षलाई थप बलियो बनाउने विश्वास गरिएको छ।

चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ भने पार्श्व संगीत एलिस कार्कीले दिएका छन्। हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रमा गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेका छन्।

त्यस्तै आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशकका रूपमा रहेका छन्। ध्वनि मिश्रण मुकेश शाह, रङ संयोजन राजेन्द्र मोक्तान तथा कोरियोग्राफी रामजी लामिछाने र मौसम हिमालीले गरेका छन्।

‘गौथली’लाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्ने भएका छन् भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ। घर, परिवार र सम्बन्धको आत्मीयता प्रस्तुत गर्ने यो चलचित्रले दर्शकलाई भावनात्मक रूपमा जोड्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ८ : २१ बजे