काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दिवा खाजाको रूपमा हप्ताको दुई पटक कोदो तथा फापरको रोटी र दुई पटक मकै भटमास र मोही खुवाउनु पर्ने निर्णय लिएको छ ।
विद्यालयमा खुवाइने दिवा खाजामा समेत जङ्ग फुड खुवाउने गरेको पाइएपछि गोकर्णेश्वर नगरपालिकाले दिवा खाजामा चासो देखाएको हो ।
पुस २९ गते बसेको हिउँदे नगर सभाले कम्तीमा हप्तामा ४ दिन स्थानीय उत्पादनलाई खाजाको रूपमा अनिवार्य प्रयोगमा ल्याउने गरी निर्णय गरेको छ । निर्णयमा भनिएको छ, विद्यालयहरूमा विद्यार्थीहरूका लागि खाजामा अनिवार्य रूपमा हप्ताको दुई पटक कोदो तथा फापरको रोटी र दुई पटक मकै भटमास र मोही खुवाउने गरी व्यवस्था गर्न लगाउने भनिएको छ । मेयर दीपक रिसालका अनुसार निर्णय कार्यान्वयनमा तत्काल लैजाने बताउँछन् ।
विद्यार्थीको स्वास्थ्यमा ख्याल राख्दै गोकर्णेश्वर नगरपालिकाले फाइबरजन्य खाद्य बालीमा अनुदान दिएर उत्पादनमा वृद्धि गर्ने र उत्पादित वस्तु नगर क्षेत्रको विद्यालयमा दिवा खाजाको रूपमा खपत गर्ने योजना मेयर रिसलाले सुनाएका छन् । नगरको यो निर्णयले गोकर्णेश्वर क्षेत्रका विद्यार्थीको स्वास्थ्यमा प्रत्यक्ष लाभ हुने अपेक्षा राखिएको छ ।
जङ्ग फुडलाई पत्रु खाना पनि भन्ने गरिन्छ । जङ्ग फुड विष सरह नै मानिन्छ । हाम्रो वरिपरिका पसलहरूमा पाइने तयारी खानेकुराहरू जस्तै चाउचाउ, बिस्कुट, आलु चिप्स, चिजबल्स, कुरकुरे, भुजुरी, चकलेट, क्याड्बरी, आइसक्रिम, केक तथा तुरुन्त तयार पार्न सकिने मम, पिज्जा, आलु फ्राई, हटडग, बर्गर आदि खानालाई जङ्क फुड भनिन्छ । यस्ता खानेकुरामा धेरै नुन, चिनी र चिल्लो हुन्छ तर भिटामिन, खनिज र फाइबर एकदमै कम हुन्छ ।
त्यस कारण दिवा खाजाको रूपमा गहुँ, कोदो, फापर, मकैको रोटी, गहुँ धानको चिउरा, भटमास, चना, केराउ, बोडीको परिकार, हरियो मकै, हरियो तरकारीका परिकार, आलु, सखरखण्ड, काँक्रो, गाँजर, मुला, मेवा, केरा आदि जस्ता स्वास्थ्यवर्द्धक खाद्यवस्तुहरू प्रयोग गर्दा शरीरलाई आवश्यक पर्ने पोषकतत्व प्रदान गर्दछ । यही फाइदालाई ध्यानमा राखेर दिवा खाजामा कोदो, फापर, मकै भटमास र मोहीलाई प्राथमिकता दिएको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ ।
























