७ असार २०८३, आइतबार | Sun Jun 21 2026

महाकुलुङ प्राथमिक अस्पतालबाट विशेषज्ञसहितको अप्रेसन सेवा दिइने


७ फाल्गुन २०८१, बुधबार  

56
Shares

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले ‘महाकुलुङ प्राथमिक अस्पताल’बाट विशेषज्ञसहितको अप्रेसन सेवा दिने भएको छ । उक्त सेवा प्रवाहका लागि मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी एमडी इन जनरल प्राक्ट्रिस (एमडिजिपी) डा. सन्जय पोखरेलसँग करारनामा समेत गरेको छ ।

आवश्यक पूर्वाधार र औजार तयारी अवस्थामा रहेकाले डाक्टर पुग्नासाथ विशेषज्ञसहितको अप्रेसन सेवा प्रवाह सुरु गरिने पालिका अध्यक्ष सुर्य कुलुङले जानकारी दिए । उनले भने, ‘जटिल बाहेकका अप्रेसनका काम प्राथमिक अस्पतालबाटै गर्ने व्यवस्था मिलाएका छौँ । यो पालिकाबासीका लागि खुसीको कुरा हो ।’ उनले अघिल्लो सरकारले देखेको सपना वर्तमान सरकारले पुरा गरेको बताए ।

महाकुलुङ गाउँपालिकाका पूर्व अध्यक्ष सागर किराँतीले नागरिकको स्वास्थ्य समस्या हल गर्नका लागि तत्कालिन सरकारले देखेको सपना यो सरकारले पुरा गरेकोमा धन्यवाद दिए । ‘यो खबर हामी सबैको लागि खुसीको खबर हो । तत्कालिन जनप्रतिनिधि र वर्तमान जनप्रतिनिधिलाई धन्यवाद दिन चाहन्छु ।’उनले थपे ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत केडी कुलुङले महाकुलुङले एमडिजिपी डाक्टर पाउनु महाकुलुङबासीको लागि सुखद खबर भएको बताए । स्वास्थ्य शाखा संयोजक हरि प्रसाद आचार्यले मातृशिशु मृत्यूदर शुन्यमा झार्नु चुनौतीको विषय भएकाले विशेषज्ञसहितको अप्रेसन सेवाले त्यो लक्ष्यलाई सहयोग गर्ने विश्वास लिए ।

एमडिजिपी डा.सन्जय पोखरेलले आफूले मन, बचनले महाकुलुङबासीको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘पाल्पा र ओखलढुंगाको मिसन अस्पतालमा बसेर काम गरेको अनुभवले पनि महाकुलुङबासीको सेवामा अझ सजिलो बनाउनेछ ।’
जिल्ला अस्पताल फाप्लुका डा. रामबाबु जोशीले एमडिजिबी डाक्टर स्वास्थ्य क्षेत्रको प्याकेज नै भएकाले हरेक पालिकामा पुग्नुले ग्रामिण क्षेत्रका नागरिकले सजिलो सँग विशेषज्ञ सेवा पाउनु भएको बताए ।

यसअघि एक जना एमबिबिएस डाक्टरबाट सेवा प्रवाह गर्दै आएको महाकुलुङ प्राथमिक अस्पतालले विशेषज्ञसहितको अप्रेसन सेवा सुरुवात गर्ने खबरले महाकुलुङबासीमा खुसीको सञ्चार गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १० : ४० बजे