५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

बोगल तामाङ सेवा समाजको भवन उद्घाटन


१४ फाल्गुन २०८१, बुधबार  

6
Shares

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-७ मा नवनिर्मित बोगल तामाङ सेवा समाजको भवन उद्घाटन गरिएको छ । स्थानीय सरकारको सहयोगमा निर्माण भएको उक्त भवनको गाउँपालिका अध्यक्ष असिम राईले बुधबार एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

समाजका अध्यक्ष आसमान तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भवन निर्माणका लागि करीब ११ लाख खर्च भएको आयव्याय सार्वजनिक समेत गरिएको छ । स्थानीय सरकारले नागरिकको सामन्य तर महत्वपूर्ण समस्या समाधान देखी गौरवको योजना समेत संचालन गरेर इतिहास कायम गरेको भन्दै स्थानीयबासीले धन्यवाद ज्ञापन गरेका छन ।

स्थानीयको तर्फबाट निरकुमार तामाङ र कविता तामाङले मनतव्य राख्दै अन्य स्थानीय सरकारको भन्दा थुलुङ दुधकोशीमा अनुभुती हुने गरि काम भइरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्कीले वडा भित्रको सबै जातजाति, भाषाभाषी तथा भूगोल समेट्ने गरि विकासको खाका बनाएर काम गरिरहेको र त्यसमा स्थानीय नागरिकको सहयोग उत्तिकै प्राप्त भएको प्रति धन्यवाद दिनुभयो । आफ्नो कार्यकालमा अघिल्लो कार्यकालमा सुरु भएको तर पूरा नभएको योजना पूरा गर्दै नयाँ कार्यक्रम समेत जारी राखेको बताउनुभयो । वर्थिङ सेन्टर स्थापना देखि विद्यालय भवन निर्माण, सडक सोलिङ देखि आवश्यकताका आधारमा नयाँ ट्र्याक खोल्ने सम्मको कार्य गरिरहेको भन्दै उहाँले आफ्नो कार्यकालमा एकघर एक धारा अभियान पूरा गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले नागरिकलाई केन्द्रमा राखेर विकास निर्माणको कार्य गरिरहेको भन्दै नागरिकले त्यसमा सहयोग गरिरहेको बताउनुभयो । नेले-मुक्ली र नेले काङ्गेल सडक कालोपत्रको कार्य सुरु भएको भन्दै अध्यक्ष राईले नेले-बोगल- बुढिडाडा सडक कालोपत्रको काम पनि तत्काल सुरु हुने बताउनुभयो । स्थानीयले राखेको जायज माग पूरा गर्ने भन्दै अध्यक्ष राईले नागरिकको सहभागीता बिनाको बिकास अधुरो र अपुरो हुने भएकाले थुलुङ दुधकोशी सरकार यसमा सचेत रहेको बताउनुभयो ।

कार्यक्रमका सभाध्यक्ष आसमान तामाङले वडा र पालिकाका नेतृत्वले गरेको विकास प्रशंसायोग्य रहेको प्रती सबै जानकार रहेकाले भ्रमको पछाडी नकुदिकन सकारात्मक सहयोग गर्न सबैलाई अनुरोध गर्नुभयो । थुलुङ दुधकोशी पालिकाको जति बिकास अन्यत्र कतै नभएको भएपनि बिकास विरोधिले केही भ्रम फैलाउन खोजेको भन्दै उहाँले त्यसको प्रतिकार जनताले गर्ने बताउनुभयो ।

कार्यक्रमको अवसरमा जग्गा दाता तथा सहयोग गर्ने सबैलाई सम्मान-पत्र सहित सम्मान गरिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ८ : ३९ बजे