५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

सोलुदुधकुण्ड नगरपालिका वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा जिल्लाकै उत्कृष्ट


१५ फाल्गुन २०८१, बिहिबार  

326
Shares

सोलुखुम्बु । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कनमा सोलुखुम्बु जिल्लाकै उत्कृष्ट स्थानीय तह बनेको सोलुदुधकुण्ड नगरपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पनि जिल्लाकै उत्कृष्ट बनेको छ ।

विभिन्न सूचकांकको आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सोलुदुधकुण्ड नगरपालिकाले ९९ अंक प्राप्त गर्दै जिल्लाकै प्रथम बनेको छ । नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पा प्रमुख रहेको यस नगरपालिकामा उनी दोस्रो पटक नेतृत्वमा छन् ।

मन्त्रालयको मुल्यांकनको आधारमा लिखुपिके गाउँपालिका ९३.५ अंक प्राप्त गरी द्धितीय र थुलुङ दुधकोशी गाउँपालिकाले ८३.५ अंक प्राप्त गरी तृतीय भएको छ ।

यस्तै महाकुलुङ गाउँपालिकाले ७८ अंक र खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ७३ अंक प्राप्त गरेको छ । नेचासल्यान, माप्यदुधकोशी र सोताङ गाउँपालिका यो मूल्यांकनमा सहभागी भएका छैनन् ।

स्थानीय सरकारको आर्थिक ब्यबस्थापन, स्रोत परिचालन, खर्चको प्रभावकारिता, पारदर्शिता र दिगोपनका आधारमा गरिने वित्तीय जोखिम मूल्यांकनले कुन स्थानीय तह आर्थिक अनुशासनमा कति बाँधिएको छ भन्ने कुराको संकेत गर्दछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ११ : ५९ बजे