काठमाडौँ । नेपाल सरकारको असार २३ गतेको मन्त्री परिषदको निर्णय अनुसार हरेक वर्ष साउन १६ गतेलाई कोदो दिवस मनाउने निर्णय गरे अनुसार विश्व प्रकृति संरक्षण नेपाल-WWN ले पनि ‘प्रथम राष्ट्रिय कोदो दिवस’ मनाउने भएको छ।
यस वर्ष दिवसको नारा ‘कोदोजन्य बालीको आहार, खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ तय गरिएको छ । दिवस टोखाको धापासी हाइटमा दिउँसो १ बजे देखि कोदोजन्य परिकार र कृषि मेलाको साथमा मनाउन लागिएको विश्व प्रकृति संरक्षण नेपालका अध्यक्ष तिलक ढकालले जानकारी दिए ।
दिवस बनाउन रैथाने एग्री प्रडक्टस नेपाल, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, टोखा नगरपालिका, राष्ट्रिय जीन बैँक खुमलटारले सहकार्य गरेका छन् । सोही दिन साना किसान समूह महासंघले काभ्रेमा कोदो रोपणसहित दिवस बनाउदै छ भने उद्योग बाणिज्य महासंघ कृषि समितिले टेकुमा ३ बजेपछि अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ ।
यसअघि राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैर सरकारी निकायले अनौपचारिक रुपमा कोदो दिवस मनाउदै आएको थियो । यो वर्ष देखि नेपाल सरकारले अपनत्व लिदै राष्ट्रिय रुपमा मनाउने निर्णय लिएको हो ।
सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ । यी बालीको उत्पादन बढाउन बर्सेनि अर्बौंको रासायनिक मल आयात हुने गरेको छ ।
कोदो र कोदोजन्य परिकारको माग बढे पनि सरकारले उत्पादन बढाउन सकेको छैन । विगतको तथ्यांक हेर्दा कोदोको उत्पादन घट्दै गएको छ । कृषि मन्त्रालयका अनुसार २०७८-७९ मा २ लाख ६७ हजार ७१ हेक्टरमा खेती र ३ लाख ३९ हजार ४ सय ६२ टन उत्पादन भएको थियो ।
२०७९-८० मा क्षेत्रफल घटेर २ लाख २७ हजार ९ सय ३४ हेक्टर पुगेको छ । उत्पादन पनि घटेर ३ लाख १० हजार ८ सय ४७ टनमा झरेको मन्त्रालयको तथ्यांक छ । देशमा बर्सेनि करोडौंको कोदो आयात हुने गरेको छ ।
























