काठमाडौँ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले काठमाडौँमा सञ्चालन गरेको एकीकृत सेवा शिविरमा ५ हजार ३३५ जना नागरिक लाभान्वित भएका छन् ।
शिविरबाट १३ लाख ४५ हजार ५७६ रुपैयाँ राजस्व सङ्कलन भएको मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए ।
विभिन्न पेसा तथा व्यवसायका सिलसिलामा राजधानी काठमाडौँमा बसोबासरत नगरवासीहरूलाई सहज रूपमा प्रशासनिक सेवा उपलब्ध गराउने अभिप्रायले सञ्चालन गरिएको सो शिविरमा मालपोत तथा भूमि कर सङ्कलन,जन्म मृत्यु दर्ता,बसाई सराई,राष्ट्रिय परिचय पत्र वितरण लगायतका सेवा प्रवाह गरिएको छ । शिविरबाट सबैभन्दा बढी फाइदा सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण गर्नुपर्ने असक्त र ज्येष्ठ नागरिकलाई पुगेको छ ।
नगरपालिकाका सहित ११ वटै वडाले एकै थलोमा सेवा प्रवाह गर्ने गरी रामनगर पार्टी प्यालेस,रामहिटी काठमाडौँमा आइतबार नगरप्रमुख शेर्पाले सो शिविरको उद्घाटन गरेका थिए । तीन दिने सो शिविर मङ्गलवार सम्पन्न हुने भए पनि सेवाग्राहीहरूको चाप बढेपछि एक दिनका लागि समय थप गरिएको थियो ।
























