काठमाडौँ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले काठमाडौँमा आयोजना गरेको दुई दिने प्रशासनिक सेवा प्रवाह शिविरबाट एक हजार २२६ जना पालिकाबासी लाभान्वित भएका छन् ।
नवदुर्गा पार्टी प्यालेस सुकेधारामा सम्पन्न शिविरबाट ४८ जनाले विवाह दर्ता, ५६ जनाले जन्म दर्ता, ३८ जनाले मृत्यु दर्ता, १३ जनाले बसाई सराई र ६ जनाले सम्बन्ध विच्छेद सेवा लिएका छन् ।
शिविरबाट २४२ जनाले सामाजिक सुरक्षा भत्ता नविकरण गराएको पालिका प्रवक्ता तथा माप्य दुधकोशी ३ का वडाध्यक्ष अमित राईले बताए । त्यस्तै, ३११ जनाको राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ भने १०८ जनाले भूमिकर सेवा र ४०४ जनाले विभिन्न सिफारिस सेवा लिएका छन् ।
शिविरबाट ३ लाख ५ हजार ८३० रुपैयाँ राजस्व संकलन भएको प्रवक्ता राईले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा अस्थायी बसोबास गर्ने माप्य दुधकोशीका नागरिकका लागि एकीकृत प्रशासनिक सेवा प्रवाह शिविरको आयोजना गरिएको थियो ।
बर्खाको समयमा मोल्नुपर्ने जोखिम, खर्च र समयलाई ध्यानमा राख्दै काठमाडौँमा शिविरको आयोजना गरिएको र शिविर फलदायी बनेको पालिका अध्यक्ष बुद्धिकिरण राईले बताए ।
उनले भने, शिविरले विशेषतः अपांगता, असक्त र जेष्ठ नागरिकहरुलाई शिविर फलदायी बनेको छ । आगामी वर्ष पनि प्रशासनिक शिविर आयोजना गर्नेछौँ ।

सामाजिक सुरक्षा भत्ता नविकरणकै लागि पनि सयौँ नागरिक गाउँ नै पुग्नुपर्ने बाध्यताले कम्तीमा एक जना व्यक्तिको २० देखि २५ हजार खर्च र समयको बचत भएको पालिका उपाध्यक्ष गौरब राईले बताए ।
माप्य दुधकोशीका लब्जी बहादुर कार्कीले काठमाडौँमा शिविर सञ्चालन भएकै कारण २०५४ सालदेखि हालसम्मको मालपोत दस्तुर तिर्न पाएकोमा खुसी व्यक्त गरे ।
शिविरबाट सेवाग्राहीमा खुसीयाली देखिएको छ भने जनप्रतिनिधिहरुमा नागरिकको सहजताका लागि शिविर सञ्चालन गर्न पाउँदा आत्मसन्तुष्टि थपिएको माप्य दुधकोशी ५ का वडाध्यक्ष अविरल वाइवाले बताए ।
























