सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूले पार्टीको १५औं महाधिवेशन तोकिएको समयसीमाभित्रै सम्पन्न गर्नुपर्ने, नभए विशेष महाधिबेशनको मागसहित हस्ताक्षर संकलन गरेर केन्द्रीय नेतृत्वमा दबाब दिएका छन्।
२७ जना महाधिवेशन प्रतिनिधिमध्ये १९ जनाले हस्ताक्षर गरी पार्टी नेतृत्वलाई मागपत्र पेश गरेका हुन्। उनीहरूले पार्टीको विधानअनुसार समयसीमाभित्र नियमित महाधिवेशन सम्पन्न गर्न नसकिए विशेष महाधिवेशन आह्वान गर्नुपर्ने बताएका छन्।
महाधिवेशन प्रतिनिधि प्रकाश सिंह कार्की, आङछिरिङ शेर्पा, प्रभुराम बस्नेत, खिलाराज बस्नेत, कुशराज राई, जीवन गुरुङ, नबिन थापा, छिन्डिल्हमु शेर्पा, गान्धीमाया तामाङ, पासाङ शेर्पा, मनोज खड्का, दुर्गा प्रसाद नेपाली (नौबाघ), धर्म बहादुर नेपाली, महेन्द्र दिप राई, मङ्गल सिंह तामाङ, एक कुमारी कार्की बस्नेत, लोकेन्द्र जंग बस्नेत, बिमला गुरुङ र पुजा फुयलले हस्ताक्षर गरी मागपत्र पेस गरेका छन्।
सोलुखुम्बुका कांग्रेस नेताहरूले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउन नियमित र पारदर्शी ढंगले महाधिवेशन सम्पन्न गर्नु अपरिहार्य भएको बताएका छन्। “पार्टीको रूपान्तरण र पुनर्जीवनका लागि विधान पालना पहिलो सर्त हो,” महाधिवेशन प्रतिनिधि प्रकाश सिंह कार्कीले भने, “महाधिवेशन ढिलो हुनु भनेको पार्टीको जनविश्वासमा आघात पुर्याउनु हो।”
नेपाली कांग्रेसको विधानअनुसार प्रत्येक चार वर्षमा महाधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था छ। हालको नेतृत्वले समयमै तयारी सुरु नगरेको र जेनजी आन्दोलनको म्याण्डेड अनुसार पनि तत्काल महाधिबेशनमा जानुपर्ने भन्दै तल्लो तहबाट दबाब बढ्न थालेको हो।
सोलुखुम्बुबाट २७ जना महाधिवेशन प्रतिनिधि रहेका छन्। तीमध्ये अधिकांशले नियमित महाधिवेशन नै कांग्रेसको संगठनात्मक पुनःउत्थानको आधार बन्ने विश्वास व्यक्त गरेका छन्।