दुर्गेश थापा आज मंगलबार साँझ अमेरिका उड्दैछन् । अमेरिकाका बिभिन्न ११ शहरमा उनको कार्यक्रम तय भइसकेको छ । दुर्गेश थापा पहिलोपटक अमेरिका जाँदैछन् । त्योपछि एकसाथ ११ वटा कार्यक्रममा उनले प्रस्तुती दिनेछन् । दुर्गेशको पहिलो कार्यक्रम आगामी शुक्रबार (१७ अक्टोबर)मा अस्टिन टेक्सासबाट सुरु भएर नोभम्बर २२मा डल्लास टेक्सासमा पुगेर सकिनेछ । त्यो बिचमा उनले न्युओर्क, बाल्टिमोड, कोलम्बस, कोलोराडो लगायतका ठाउँमा ११ स्टेजमा प्रस्तुती दिने आयोजकले जानकारी दिएको छ ।
यो टुर आरएनआर ग्रुप्स एलएलसीबाट रोशन पुरी, पाण्डे होम्स एलएलसीबाट गणेश पाण्डे र एकेबी कम्पनी एलएलसीबाट अशिष भडेलले आयोजना गरेका हुन् । साथै पिस एण्ड ब्युटी नामक गैर नाफामुखी संस्थाले साझेदारी गरेको छ । अग्रिम टिकटका लागी पनि आयोजकले आग्रह गरेको छ । आयोजकले दुर्गेशको यो पहिलो अमेरिका टुर भएकाले पनि दर्शकको उल्लेख्य उपस्थिती हुने अपेक्षा राखेको छ ।
आयोजक मध्येका एक रोशन पुरीले दुर्गेशलाई पहिलोपटक अमेरिकामा रहेका नेपालीहरु माझ ल्याउन पाउँदा खुसी लागेको बताएका छन् । रोशनले यो टुरलाई एक सांगितीक कार्यक्रम मात्र नभई फरक फरक ठाउँमा रहेका नेपालीहरु जमघट हुने अवसर पनि भनेका छन् । यस्तै ति कार्यक्रम मध्ये नोभम्बर १ मा भर्जिनियामा हुने कार्यक्रममा गायिका मेलिना राईको पनि प्रस्तुती रहने आयोजकले बताइएको छ । मेलिनाले भिडिओ सन्देश दिँदै नोभेम्बर १ मा भेटौं पनि भनेकी छिन् ।