काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक बन्नबाट रोक्ने प्रपन्च सुरु भएको छ । गत भदौ १८ गते प्रहरी महानिरीक्षकमा नियुक्त भएका चन्द्रकुवेर खापुङ आउँदो कात्तिक २७ गते सेनानिवृत्त हुँदै छन् । यसपछि महानिरीक्षकमा एआईजी कार्कीको बलियो दाबेदारी रहने देखिन्छ । यसकारण उनीमाथि विभिन्न आरोप लगाएर महानिरीक्षक बन्न दौडबाट पछि हटाउन खेल सुरु हुन थालेको छ ।
उनीमाथि विभिन्न आरोपहरू लगाउन थालिएको छ । तर, ती आरोपलाई पुष्टि गर्नेखालका प्रमाणहरु देखिँदैनन् । कार्कीलाई महानिरीक्षक बन्नबाट रोक्ने उद्देश्यले मात्र आरोप लगाएको भन्न सकिने अवस्था देखिन्छ । प्रहरी संगठनलाई नै कमजोर बनाउने गरी लगाइएका निराधार आरोपप्रति सुरक्षा निकायका अधिकारीहरु नै छक्क परेका छन् । आन्तरिक मूल्याङ्कन संवेदनशील चरणमा भइरहेका बेला केही नेपाल बाहिरको नम्बरबाट सञ्चालित ह्वाट्सएप समूहहरू मार्फत अफवाह फैलाउने काम भइरहेको छ । गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा देश असामान्य अवस्थामा थियो । देशका कार्यकारी प्रमुख नै नेपाली सेनाको शरणमा पुगेका थिए । जसकारण देश सरकार अर्थात अभिभावकविहीन अवस्थामा थियो । प्रहरी आक्रमणमा परेका थिए, उनीहरुको बास (प्रहरी कार्यालयमा) आगजनी गरिएको थियो ।
यही बेला भदौ २४ र २५ गते देशभरका अधिकांश कारागारबाट कैदीबन्दी र प्रहरी कार्यालयमा रहेका थुनाबन्दी भागेका थिए । तर, कार्कीमाथि थुनुवा कैदीहरूलाई भगाएको भन्ने आरोप लगाइएको छ । यो आरोपको भागीदार उनीमात्र होइन देशका सबै जिम्मेवार अधिकारी र निकायको हो । तर, उनलाई मात्र आरोप लगाउनुको कुनै तुक देखिँदैन । तर, प्रहरीका उच्च पदस्थ अधिकारीले स्वेच्छाचारी रूपमा अभियुक्तलाई रिहा गर्न सक्दैन । यस्तो अवस्थामा ‘कैदी भगाएको’ भन्ने दाबी न कानुनी तर्कले मिल्छ, न प्रशासनिक प्रक्रियाले समर्थन गर्छ ।
यी र यस्ता अनेकथरिका आरोप लगाएर कार्कीलाई महानिरीक्षक बन्ने दौडबाट पछि हटाउन खोजिएको देखिन्छ । प्रहरी प्रशासनमा आन्तरिक सुरक्षा, भीड मनोविज्ञान, भीड गतिशास्त्र र आन्तरिक द्वन्द्व व्यवस्थापन जस्ता महत्वपूर्ण विषयमा पोख्त मानिने उनले यस्ता जटिल परिस्थितिहरूमा संयमता, मनोवैज्ञानिक बुझाइ र संगठनात्मक सन्तुलन कायम राख्दै काम गरेको प्रहरी अधिकारीहरु नै बताउँछन् । केन्द्रीय कमान्ड र केन्द्रीय सुरक्षा समिति अन्तर्गतको औपचारिक छलफलमा सहभागी हुन गएको विषयलाई लिएर उनीमाथि आफ्नो कमान्ड रुम छाडेर आर्मी हेडक्वाटर पुगेको भन्नेजस्ता आरोप लगाइएको छ । उक्त बैठकमा प्रधानसेनापति, गृह सचिव र मुख्यसचिवसमेत सहभागी थिए ।