सोलुखुम्बु । सोलु हाइड्रोपावर लिमिटेड, लोवर सोलु जलविद्युत् आयोजना (८२ मेगावाट) को शेयर निष्कासनको सूचनाविरुद्ध सोलुखुम्बुको नेचासल्यानबासी विरोधमा देखिएका छन् । कार्तिक २७ गते सार्वजनिक गरेको शेयर निष्कासन सम्बन्धित सूचनामा प्रभावित क्षेत्रका भूगोलमा नेचासल्यान समावेश नगरेपछि उनीहरूले विरोधका आवाज एक बनाएका छन् । नेचासल्यान गाउँपालिकाले विज्ञप्ति जारी गर्दै निर्णय सच्याउन चेतावनी दिएको छ ।
आगामी मङ्सिर ७ देखि खोल्न लागेको आइपिओमा अति प्रभावित र प्रभावितको सूचीमा नेचासल्यान नराखिएकाले निर्णय सच्याउन माग गर्दै सोलुखुम्बु र काठमाडौँमा रहेका नेचासल्यानबासी एकजुट बनेका छन् ।
काठमाडौँमा भएको नेचासल्यानका युवाहरूको भेलाले हाइड्रो प्रभावितमा नेचासल्यान गाउँपालिका सहित जिल्लाभरका सर्वसाधारणले आईपिओको लाभ लिन पाउने गरी शेयर निष्कासन माग राख्दै आइतबार नेपाल धितोपत्र वोर्डको कार्यालय, सोलु हाइड्रोपावर लिमिटेड कम्पनीको केन्द्रीय कार्यालय र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ भने आवश्यक सम्पर्क र समन्वय गर्न २९ सदस्यीय सङ्घर्ष समिति समेत गठन गरेको छ ।
एक टोलीले हाइड्रोपावरको हेपाहा प्रवृत्ति विरुद्ध पालिकावासीको तर्फबाट आयोजना कार्यालय तिंलामा ध्यानाकर्षण पत्र बुझाएको छ । साथै, नेचासल्यान सहित सिङ्गो जिल्लालाई स्थानीय प्रभावित क्षेत्र मानेर शेयर निष्कासन सम्बन्धी निर्णय पुनरावलोकन गर्नका लागि संवाद समेत गरिएको छ ।
त्यस्तै, शेयर निष्कासन सम्बन्धी सूचनालाई लिएर नेचासल्यान गाउँपालिकाले कडा विरोध जनाएको छ । गाउँपालिकाले आफ्नो भू–क्षेत्रलाई आयोजना प्रभावित र अति प्रभावित क्षेत्रमा समावेश नगरेको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘८२ मेघावाटको जलविद्युत् आयोजना यस नेचासल्यान गाउँपालिका क्षेत्रभित्रको खाल्पा, सल्यान, सहेले, चुर्पुघाट हुँदै तुइनटार क्षेत्र भएर बग्ने सोलु खोलालाई यस गाउँपालिकाको वडा नं २ भन्दा माथिको भूगोलबाट नदी पथान्तर गरी गाउँपालिका क्षेत्र बाहिर सञ्चालन भएको उक्त हाइड्रोपावरका कारण यस गाउँपालिका क्षेत्रको साबिक विशाल सोलु खोलाको पानी हाल अत्यन्त न्यून भई यस गाउँपालिका क्षेत्रका जलचर-थलचर प्राणी, वनस्पति र मानव जीवन लगायत समग्र वातावरणमा दीर्घकालीन रूपमा प्रतिकूल असर पर्न गएको र जलवायु परिवर्तनको असरमा थप मलजल पुर्याएको र यदाकदा खोलामा आकस्मिक रूपमा पानीको बहाव छोड्दाको अवस्थामा निम्तिने प्रकोप आदिको भयावह स्थितिलाई नजर अन्दाज गरी उक्त कम्पनीले मिति २०८२-०७-२७ गते सार्वजनिक गरेको सूचनामा यस गाउँपालिकाको कुनै पनि क्षेत्रलाई आयोजनाको अति प्रभावित र प्रभावित क्षेत्र भित्र नसमेटिएको विषयमा यस गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।’
सोलु हाइड्रोपावरले भने आगामी मङ्सिर ७ गतेदेखि आइपिओ निष्कासन गर्ने तयारी पूरा गरेको छ । कम्पनीले १० अर्ब रुपैयाँ जारी पुँजीमध्ये २० प्रतिशत अर्थात् २ अर्ब बराबरको २ करोड कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको जनाएको छ । जसमा १ करोड कित्ता आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि छुट्टाइएको छ । तीमध्ये ४० लाख कित्ता सोलु दूधकुण्ड नगरपालिका–७ र ११ तथा थुलुङ दूधकोशी गाउँपालिका–१ का अति प्रभावित बासिन्दाका लागि तोकिएको छ भने बाँकी ६० लाख कित्ता सोही पालिका भित्रका अन्य वडाका स्थानीयका लागि रहनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पनि कुल सर्वसाधारण भागको १० प्रतिशत अर्थात् १० लाख कित्ता शेयर छुट्टाइएको छ । यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता आवेदन दिन सकिनेछ ।


























