काठमाडौँ । गायक छविराज सुनारको गीत ‘पोखरा पृथ्वी चोकैमा’ करोड क्लब पुगेपछि केक काटेर सेलिब्रेसन गरिएको छ ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केक काटेर करोड क्लबको खुसी साटासाट गरिएको हो ।
नेत्र अर्यालको शब्द, नन्दु परियारको संगीतमा तयार भएको गीतमा छविराजलाई महिला गायनमा शान्ता रानी परियारले साथ दिएकी छन् । यो गीत युट्युवमा एक करोड २० लाख बढी पटक हेरिएको छ ।
अध्यक्ष थापा मगरले गीत व्यापारिक रुपमा सफल हुनु भनेको कलाकारिताले निरन्तरता पाउनु भएको बताइन् । विकृतीजन्य गीत न्यूनिकरणमा साइबर ब्यूरोसम्म धाउनु परेको तितो यर्थाथ सुनाउदै थापाले भनिन्, ‘सञ्चारकर्मीले पनि मौलिक सृजनाको पक्षमा लेख्न बोल्न थाल्नु भएको छ । यो लोक गीत संगीतको लागि खुसीको विषय हो ।’
गायिका शान्ता रानी परियारले गीत गाउदै ‘पोखरा पृथ्वी चोकैमा’ करोड क्लब प्रवेशको केक काटिएको थियो ।

सर्जक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका महासचिव शिव हमालले गीत सफल हुदैँ गर्दा गीत संगीतमा काम गर्ने मेकअप म्यान देखि कोरसको सम्म जीवनयापनमा सहज हुने बताए । ‘हामी यस्तो पेशामा छौँ । लाख खर्चेर हजार कमाउदा पनि खुसी हुनुपर्छ ।’ हमालले भने ।
राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले करोड क्लब प्रवेश गरेको गीतको प्रसंशा गर्दै मौलिक सृजनामा सर्जकको ध्यान जानु पर्नेमा जोड दिए । सर्जक नेत्र अर्याले आफ्नो सृजना सफल हुँदा आफू हर्ष विभोर भएको प्रतिक्रिया दिए ।
‘पोखरा पृथ्वी चोकैमा’ गीतसँग जोडिएका सजर्क, कलाकारलाई मायाको चिनो वितरण गरिएको कार्यक्रममा व्यवसायि पृथ्वी थकाली, मोडल सागर लम्साल ‘बले’ र जुना विश्वकर्मा, संगीतकार नन्दु परियार, एरेन्जर एचबिएन किस्मत, गायक सुनारका परिवार लगायतको उपस्थिति रहेको थियो ।

























