सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ आधारभूत अस्पतालमा पहिलो पटक भएको शल्यक्रियाबाट सर्मिला कुलुङले छोरालाई जन्म दिएकी छन् । महाकुलुङ १ बुङ निवासी २६ वर्षिया कुलुङले शल्यक्रियाबाट पहिलो सन्तान छोरालाई जन्म दिएकी हुन् । नवजात शिशुको तौल ४.८ केजी रहेको स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद आचार्यले जानकारी दिए । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
शल्यक्रियामा एमडिजिपी डा. सागर खड्काको नेतृत्वमा डा. कविन्द्र राई, डा. रोशन कुलुङ, एनेशथेसिया पुनम कुमारी शाह, नर्स द्धय सोनी राई र अर्पणा कुलुङ, अहेव ओसन खालिङ सहभागी थिए । डेलिभरी डेट कटेको र बच्चाले पेटमा दिशा खाइसकेको अवस्थामा शल्यक्रिया गरिएको चिकित्सकको टिमले जनाएको छ ।
शल्यक्रियापछि पालिका अध्यक्ष सुर्य कुलुङले पालिकाको अथक प्रयासपछि स्वास्थ्य क्षेत्रमा अभूतपुर्व सफलता मिलेको प्रतिक्रिया दिए । उनले भने, ‘समयमै हुनुपर्ने शल्यक्रियाबाट आमा र बच्चा ज्यान जाने जोखिम अन्त्य भएको आभाष मिलेको छ । शल्यक्रियामा सहभागी चिकित्सक लगायतको टिमलाई धन्यवाद व्यक्त गर्दछु ।’
स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद आचार्यले शल्यक्रिया सफल भएपछि आफू निकै हर्षित भएको बताए । ‘वर्षौ देखिको महाकुलुङबासीको सपना आज पुरा भएको छ । जनप्रतिनिधि र कर्मचारीको अथक प्रयास र जनताको साथले महाकुलुङ आधारभूत अस्पतालमै शल्यक्रिया सेवा सुरु भएको छ’ उनले भने ।
सफल शल्यक्रियापछि महाकुलुङबासीमा खुसीको सन्देश फैलिएको प्रमुख प्रशासकीय अधिकृत छोइसाङ तामाङले बताए । यो सफलता सँगै शल्यक्रियाको लागि सोताङ, सल्लेरी, मिसन अस्पताल ओखलढुंगा वा अन्यत्र लैजानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
गाउँपालिकाले स्तरोन्नती शल्यक्रिया सहितको १५ शैयाको आधारभूत अस्पतालको आगामी मंसिर २६ गते विधिवत उद्घाटनको तयारी गरिएको छ ।

























