काठमाडौं । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र द स्केटल्याण्ड स्केट पार्कले संयुक्त रुपमा यहिँ असोज २० गते शनिबारको दिन, सयौं स्केटर (खेलाडी)को सहभागितामा भब्य रुपमा खुल्ला राष्ट्रिय इनलाइन स्केट मिनी म्याराथुन प्रतियोगिता गर्ने भएको छ ।
नेपालमै पहिलो पटक हुन लागेको यो खेल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका सुन्दरीजल, आलापोट चोकदेखि गोकर्णेश्वर नगरपालिकाको तालिन्चोकस्थित द स्केटल्याण्डको पार्कसम्म करिब ५ किलोमिटर बराबरको दुरीमा खुल्ला राष्ट्रिय इनलाइन स्केट मिनी म्याराथुन प्रतियोगिता हुने द स्केटल्याण्डका संचालक अब्राहम राईले जानकारी दिएका छन् ।
मिनी म्याराथन प्रतियोगिता कार्यक्रम नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यमा शनिबार बिहान ८ :०० बजेबाट शुरु हुने भएको छ ।प्रतियोगितामा नेपालभित्र र नेपाल बाहिर बिदेशबाट समेत सयौंको संख्यामा स्केटर/खेलाडीहरुले बाग्लो सहभागिता जनाउने आयोजकले जनाएको छ ।

























