काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले विद्यालय सुधारका लागि शिक्षक र अभिभावकको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् ।
रीड नेपाल र नेचासल्यान गाउँपालिकाको संयुक्त आयोजनामा विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घ पदाधिकारीहरूका लागि आजदेखि नेचामा सुरु दुई दिने क्षमता अभिवृद्धि तालिमको शुभारम्भमा बोल्दै अध्यक्ष राईले शैक्षिक सुधार र गतिशीलताका लागि आगामी दिनमा पनि शैक्षिक क्रियाकलाप सञ्चालनमा पालिका प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख माधवमणि ढुङ्गानाले आवश्यकताको आधारमा व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीलाई तालिमको आयोजना गरिएको बताए । हिमाल दर्शन माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोक कुमार शर्माले विद्यालय सुधारका लागि शिक्षक र अभिभावक सक्रिय हुनुको विकल्प नरहेको बताए ।
कार्यक्रमको अध्यक्षता गरेका रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि शैक्षिक सरोकारवालाहरूको भूमिका उत्तिकै महत्त्वपूर्ण रहेको प्रस्ट पारे ।

तालिममा व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घको काम, कर्तव्य र अधिकार, बालमैत्री विद्यालयको अवधारणा, नेतृत्व विकास, विद्यालयको वर्तमान अवस्थाको विश्लेषण, सुधार गर्नु पर्ने कुराहरू लगायतका विषयवस्तुमा सिकाइ आदानप्रदान गरिने रीड नेपालले जनाएको छ !
रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरी र शिक्षा विकास अधिकृत सुजाता राईले सहजीकरण गरिरहेको तालिममा नेचासल्यानका ५० जना विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरूको सहभागिता रहेको छ ।