३ फाल्गुन २०८१, शनिबार | Sat Feb 15 2025

थुलुङ दुधकोशी-७ देउसामा सरफ बन्ने, अध्यक्ष राईद्धारा उद्घाटन



सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ७ देउसामा सरफ उत्पादन हुने भएको छ ।कपडा धुन प्रयोग हुने सरफको व्यवसायिक उत्पादन गर्ने उदेश्य सहित आयोजित १५ दिने बेकरी र सरफ बनाउने तालिम बिहिबारबाट  देउसामा सूरु भएको छ । 

वडा कार्यालयको आयोजनामा सूरु भएको तालिमको गाउँपालिका अध्यक्ष असिम राईले औपचारीक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।वडा अध्यक्ष भोजराज कार्कीको अध्यक्षतामा भएको उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले सीपले मानिसलाई परिपक्व र आत्मनिर्भर बनाउने बताउँनुभयो ।

औपचारीक शिक्षा जतिसुकै भएपनि व्यवहारिक ज्ञान नभएको मान्छेलाई जीवन जिउन कठीनाइ हुने स्मरण गराउँदै अध्यक्ष राईले सीप सिकेर उद्यमी बन्न आग्रह गर्नुभयो ।नागरिकलाई उद्यममा जोड्दै आत्मानिर्भर बनाउनको लागि सरकारले जसतोसुकै सहयोग गर्न तयार रहेको उहाँले बताउँनुभयो । 

यस्तै कार्यक्रममा बोल्दै वडा अध्यक्ष भोजराज कार्कीले सीप सिकेको व्यक्तीलाई अनिवार्य उद्यम संग जोड्ने गरि वडाले सहजीकरण गरिरहेको भन्दै वडाबासीलाई लघुउद्यम संग जोड्ने र आत्मानिर्भर बनाउँने नीति रहेको बताउँनुभयो ।यस अघि वडामा ढाका बुनाइ र जुस जाम उद्योग सञ्चालन गरि व्यवसायिक रुपमा उद्पादन भइरहेको भन्दै वडा अध्यक्ष कार्कीले बेकरी र सरफलाई पनि सोही अनुसार अघि बढाउने योजना रहेको बताउँनुभयो । 

कुनैपनि व्यक्तीले एक भन्दा बढी सीप सिक्न नपाउँने नीति लिइएको वडा कार्यालयले जनाएको छ । दोस्रो स्थानीय तहको निर्वाचन पछि अहिले सम्म १३० जना भन्दा बढीले व्यवसायीक सीप सिक्न सफल भएको वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो । 

थुलुङ दुधकोशी ७ देउसाको आयोजना एवम् व्यवसायिक तथा सीप बिकास तालिम केन्द्र ‌ओखलढुंगाको आर्थीक सहयोग तथा गौरीभक्त होटल म्यानेजमेण्ट एण्ड टेक्नोलोजी ट्रेनिङ प्रा.लि. बिराटनगरको प्राविधिक सहयोगमा तालिम सञ्चालन हुने छ । बेकरी तालिममा २५ र सरफमा २२ जनाको सहभागीता रहेको आयोजकले जनाएको छ । 

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ८ : ३० बजे