२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025

नेपाल आउँदै मिस ग्लोब डायना



काठमाडौं । ‘द मिस ग्लोब २०२४’ की विजेता डायना मोरेनो नेपाल आउने भएकी छिन्। उनी भोलि बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउँदैछिन्।

‘नोभेम्बर क्लोथिङ मिस्टर एन्ड मिस नेसनल नेपाल २०२५’ को निम्तोमा डायना नेपाल आउन लागेकी हुन्फे ब्रुअरी १५ अर्थात फागुन ३ गतेदेखि काठमाडौंमा सुरु हुने अडिसनमा उनी जजको भूमिका निर्वाह गर्नेछिन्। यस प्रतियोगिताले वल्र्ड युथ फेस्टिभलसँग सहकार्य गर्दै काभेपलाञ्चोकमा अन्तर्राष्ट्रिय स्तरको फेसन रनवे सो पनि गर्दै छ। जुन जलवायु परिवर्तनसम्बन्धी जनचेतनाका लागि हुनेछ।

अडिसनदेखि डायनाले काभ्रेमा फेब्रुअरी १५ मा हुने वल्र्ड युथ फेस्टिभलको लागि हुने एक अन्तर्कीयात्मक कार्यक्रममा पनि सहभागी जनाउनेछिन्। नेपालमा हुने सौन्दर्य प्रतियोगितामा ग्रान्ड फिनालेमा अन्तर्राष्ट्रिय स्तरका विजेताहरुलाई ल्याएर जजको भूमिका राख्ने सनुर्वी इन्टरनेसनल पहिलो प्रतियोगिता भएको आयोजकको दाबी छ।

चौथो संस्करणमा अडिसनबाटै अन्तर्राष्ट्रिय विजेताहरु जजको रुपमा राखेको सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले बताए। ‘यसवर्ष भने काठमाडौंको अडिसनदेखि नै अन्तर्राष्ट्रिय जजलाई समावेश गरेर यो प्रतियोगिता आयोजना हुँदैछ।

काठमाडौंको अडिसनदेखि काभ्रेमा हुने वल्र्ड युथ फेस्टिभलमा डायनाले सहभागीता जनाउनुले नेपालको ब्युटी पेजेन्ट लगायत फेसन उद्योगलाई नै थप टेवा पुग्नेमा हामी आशावादी छौं,’उनले भने। डायनाको नेपाल बसाइ पाँचदिन रहेको आयोजकले जनाएको छ। यस अवधीमा काठमाडौंका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको घुम्ने गर्ने योजना तय छ। साथै उपत्यकाका विश्वसम्पदा सूचिमा परेका क्षेत्रहरुमा उनको फोटोसुट पनि हुनेछ।

नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा पनि उनको भेटघाट कार्यक्रम राखिएको छ। उनको बसाइ काठमाडौंको पाँचतारे होटल दुसित प्रिन्सेससहित धुलिखेलस्थित दुसित थानीमा हुनेछ। मार्च २ सम्म चल्ने अडिसन काठमाडौँ उपत्यकासहित विराटनगर, पोखरा, इटहरी, चितवन, नेपालगन्ज र धनगढीमा हुनेछ। जसमा १८ देखि ३२ वर्षसम्मका महिला र पुरुषहरुले भाग लिन सक्नेछन्। यसमा उचाई र लिङ्गको मापदण्ड तोकिएको छैन।

सन् २०२४ मा अल्बानियामा भएको फिनालेमा कोलम्बियाकी डायनाले ताज पहिरिएकी हुन्। नेपालबाट भने मिस ग्लोब नेपाल मोनिका अधिकारीले प्रतिनिधित्व जनाएकी थिइन्। ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ आयोजना गरेको प्रतियोगिताबाट नेपालबाट सहभागी उनी टप १५ भित्र पर्न सफल भएकी थिइन्।

मिस्टर एन्ड मिस नेसनलभित्र ६ वटा अन्तर्राष्ट्रिय फ्रेन्चाइज छन्। मिस सुप्रा नेसनल, मिस ग्लोब नेपाल, मिस्टर सुप्रा नेसनल, मिस इन्टरकन्टिनेन्टल, मिस्टर इन्टरनेसनल, मिस्टर टुरिजम वल्र्ड छन्। जुन मिस्टर एन्ड मिस नेसनल नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता रहेको आयोजकको दाबी छ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ६ : ४३ बजे