५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

कागेश्वरी धाममा ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’भव्य, गजुरेलले हसाँए, परियारले नचाए


८ फाल्गुन २०८१, बिहिबार  

24
Shares

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा फागुन ७ गते ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ भव्य रुपमा सम्पन्न भएको छ ।

स्थानीय कला र सँस्कृतिको प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरेका थिए । पर्यटन मन्त्री पाण्डेले कोगेश्वरी धामको संरक्षण र प्रवद्र्धनमा राज्यले सहयोग गर्ने आश्वासन दिए ।

महोत्सबमा बागमती प्रदेशका पूर्व भौतिकपूर्वाधार मन्त्री रामेश्वर फुयाल, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा लगायत वडाअध्यक्ष, अन्य जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

महोत्सबमा स्थानीय उत्पादनको स्टल समेत राखिएको थियो । स्टलमा नगरपालिका भित्र उत्पादन हुने हस्तकलाका सामग्री, रैथाने खानेकुरा राखिएको थियो ।

धार्मिक, पर्यटकीय तथा साँस्कृतिक सम्पदाको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको मनोहरा नगरपालिका वडा नं. १ का वडाध्यक्ष मकुन्द गजुरेलले बताए । कागेश्वरी मनोहरा नगरपालिकाले २०७० सालदेखि नियमित रुपमा महोत्सव आयोजना गर्दै आएको छ ।

महोत्सबमा हाँस्यकलाकार मनोज गजुरेलले हसाँए भने लोक सम्राट राजु परियारले दर्शकलाई नचाएका थिए । त्यसका अलवा शिशिर योगी, विश्व दोङ, बैकुण्ठ महत लगायतका कलाकारले आ–आफ्ना प्रस्तुती दिएका थिए ।

यस्तो छ कागेश्वरी धामको किवंदन्ती
कागेश्वरी मनहरा नगरपालिका–१, काठमाडौंको जंगलमा कागेश्वरीधाम छ । जंगल बीचमा रहेको धाममा, शिवलिंग मन्दिर, कागको सुनौलो प्रतिमा र झरना छन् । यस धाममा शिवलिंगसँगै कागको पूजा गरिन्छ ।

कागेश्वरी महादेव कागले पत्ता लगाएको जनविश्वास छ । किंवदन्तीअनुसार उहिल्यै गागल गाउँको माथिल्लो भेगमा मानिस गोठ बनाएर बस्थे । त्यहाँ गोठालाहरू गाइको दूध उमालेर राख्थे । तर, सधैं दूधको तर हराउँथ्यो ।

एक दिन गोठालाले चियो गर्दा दूधको तरलाई कागले खुट्टाको पञ्जाले सोरेर लाँदै गरेको देखेछन् । त्यो कागलाई गोठालाले पच्छाएछन् । पच्छ्याउँदै जाँदा अहिले कागेश्वरी मन्दिर भएको ठाउँको शिवलिंगमा कागले दूधको तर चढाएको देखियो । त्यही बेलादेखि कागेश्वरी महादेव भन्न थालिएको इतिहास रहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ११ : ४३ बजे