काठमाडौँ । प्रजातन्त्र सेनानी तथा नेपाली कांग्रेसका ज्येष्ठ नेता देवीध्वज बस्नेतको ४५ औँ पुन्य तिथिमा श्रद्धान्जली सभाको आयोजना गरिएको छ ।
काठमाडौँको एक प्यालेसमा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङबु शेर्पाको अध्यक्षतामा भएको सभामा पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व उपसभापति एवम् हालका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ प्रमुख अतिथि थिए ।
सभामा केन्द्रीय सदस्य श्रेष्ठले स्वर्गीय देवीध्वज बस्नेतको योगदान र भूमिकाको चर्चा गर्दै आगामी निर्वाचनमा सोलुखुम्बुमा कांग्रेसले जित्नु पर्ने, त्यसको लागि पार्टी एक ढिक्का भएर लाग्न आग्रह गरे । उनले भने, ८४ मा हाम्रो मुख्य प्रतिस्प्रर्धी भनेको एमाले नै हो । ८४ सम्म सत्ता समिकरण नटुट्ने तर चुनावी प्रतिस्प्रर्धा एमाले सँगै हुन्छ ।’
दिवंगत देवीध्वज बस्नेतकी भतिजी समेत रहेकी पूर्वमन्त्री तथा वर्तमान केन्द्रीय सदस्य अम्बिका बस्नेतले आफू भन्दा पार्टी र देशलाई माथी राख्ने देवीध्वजको स्कुलिङलाई पच्छ्याउदै आफूहरु राजनीतिमा सक्रिय रहेको बताइन् ।

कांग्रेस केन्द्रिय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले देवीध्वज बस्नेतको निधनले अभिभावक गुमाएको महसुस गरेको बताए । २०४० साल देखि बस्नेत सँगको चिनजानलाई स्मरण गर्दै शेर्पाले बस्नेतको ४ पुस्ताकै एउटै राजनीतिक दलमा संलग्नता हुनुले कांग्रेसको महत्व स्थापित गरेको बताए । उनले देवीध्वज बस्नेत निस्वार्थ र निशकलंक छविका साथ राजनीतिमा सक्रिय हुनुभएकाले पनि उहाँलाई सम्झिरहने बताए ।
सभामा संविधान सभा सदस्य गोकर्ण राई, कांग्रेस सोलुका पूर्व पार्टी सभापति प्रभुराम बस्नेत, कोशी प्रदेश सांसद डोल्मा तामाङ, रामेछापका सभापति रामचन्द्र खड्का, विपि प्रतिष्ठानका केन्द्रीय महासचिब रामचन्द्र पोखरेल, नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, सोलुखुम्बु प्रदेश सभा ‘ख’ का सभापति कर्मा शेर्पा, नेपाल महिला संघकी जिल्ला अध्यक्ष सरला नाछिरिङ, नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानकी केन्द्रीय सदस्य रीना केसी र अंगुर बस्नेत, लिखुपिके गाउँपालिका सभापति सुरज बस्नेत लगायतले दिवंगत बस्नेतको योगदान र स्वभावको चर्चा गर्दै पार्टीले बाटो विराउन नहुनेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सदस्य गान्धीमाया तामाङ, कांग्रेस माप्य दुधकोशी गाउँपालिका सभापति नविन कार्की, खुम्बु पासाङ ल्हमु गाउँपालिकाका कार्यवहाक अध्यक्ष ल्हाक्पानुरु शेर्पा लगायत महाधिबेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

को हुन् त, देवीध्वज बस्नेत ?
सोलुखुम्बुको चौलाखर्क लिखुखोलामा जन्मिएका बस्नेतको ९८ वर्षको उमेरमा निधन भएको थियो । राणा शासन हटाउने २००७ सालको क्रान्तिमा सक्रिय सहभागिता जनाएका बस्नेत राणा शासनविरुद्धको आन्दोलनमा मुक्ति सेनामा सोलुखुम्बु जिल्लाको लिखुखोला क्षेत्रबाट कमाण्डर भएर पूर्व कब्जा गर्दै चरिकोटसम्मको प्रजातन्त्र प्राप्तिको लडाइँमा प्रत्यक्ष नेतृत्व गरेका थिए ।
२०१५ सालको आमनिर्वाचनमा पूर्व ३ नं. क्षेत्रबाट नेपाली कांग्रेसलाई निर्वाचित गराउन बस्नेत परिवारको ठूलो योगदान रहेको नेपाली कांग्रेसका नेताहरू बताएका छन् । कांग्रेसले २०१५ सालमा दुई तिहाइ बहुमतको सरकार गठन गरेपछि पार्टी निकट बुद्धिजीवी परिषद्को राष्ट्रिय सम्मेलन भएको थियो । सो सम्मेलनमा देवीध्वज बस्नेत पूर्व ३ नं. बाट प्रतिनिधि चुनिएर केन्द्रीय बुद्धिजीवी सभाको सदस्य निर्वाचित भएका थिए ।
बस्नेत पञ्चायत कालमा सोलुखुम्बुको साबिक चौलाखर्कमा जनपक्षीय प्रधानपञ्च निर्वाचित भएका थिए । साथै २०४९ को स्थानीय निर्वाचनमा चौलाखर्क गाविसको अध्यक्ष भएका थिए । बस्नेत नेपाली कांग्रेसको इतिहासका लेखक एवं संविधान सभा सदस्य स्वर्गीय पुरुषोत्तम बस्नेतको दाजु तथा पूर्वमन्त्री अम्बिका बस्नेतको काका हुन् । स्व.बस्नेतका एक छोरा केशवध्वज बस्नेत तथा दुई छोरी अनारदेवी बस्नेत र अंगुर बस्नेत छन् ।
























