काठमाडौँ । स्वतन्त्र ताप्ली सरोकार नागरिक समाजले शनिवार काठमाडौँमा उदयपुरको ताप्ली गाउँपालिकाको आर्थिक समृद्धिका लागि कृषिमा आधुनिकीकरण विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।
प्रतिनिधि सभा सदस्य अमर रायमाझी, पूर्व सांसद जगनाथ खतिवडा, सुरेश कुमार राई, गाउँपालिका अध्यक्ष ढुगराज विक, उपाध्यक्ष धनमाया मगर लगायत ताप्लीबासीको उपस्थितिमा भएको अन्तरक्रियामा कृषि विज्ञ डा. यादव हुमागाईले चीन र नेपालको कृषि अवस्था, ताप्ली सेरोफेरोको सम्भावना र अबको सम्भावित कार्यदिशा विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
समाजका अध्यक्ष राम बहादुर राईको अध्यक्षतामा भएको अन्तरक्रियामा राम बहादुर राईले स्वागत मन्तव्य दिएका थिए । प्रतिनिधि सभा सदस्य अमर रायमाझीले कृषिको समुन्नत विकासको लागी नीतिगत प्रष्टता आवश्यक रहेको बताए ।
पूर्व सांसद जगनाथ खतिवडाले ताप्लीको विकासको लागि प्रदेश र संघीय तहको समन्वयात्मक भूमिका निर्वाह गर्न आफू तयार रहेको बताए । अर्का पूर्व सांसद सुरेश कुमार राईले पालिकाले गर्ने हरेक गतिविधिमा आफ्नो सहयोग रहने प्रतिबद्धता जाहेर गरे ।
पालिका अध्यक्ष ढुगराज विकले पालिकाले शिक्षा, कृषि र पर्यटनको विकासलाई एकीकृत रुपमा अघि बढाउन चाहेको बताए । उपाध्यक्ष धनमाया मगरले पालिकाले कृषिमा गरेका प्रयासबारे जानकारी गराएका थिए । समाजका अध्यक्ष राम बहादुर मगरले सरोकार समाज विशुद्ध राजनीति भन्दा परेको संस्था भएकाले ताप्लीको विकासमा पालिकालाई सहयोग गर्न स्थापना भएको दाबी गरे ।
























