काठमाडौँ । गायक भीषण मुकारुङको धरानमा एकल साँझ हुने भएको छ। आउँदो भदौ २८ गते शनिबार धरानको चुम्लुङ हिममा भीषणका चर्चित गीतहरू गुञ्जायमान हुनेछन्। एकल साँझबाट संकलन भएको रकम सुनसरी भोजपुर सरोकार समाजले धरानमा बनाउन लागेको भवनलाई प्रदान गरिने मुकारुङले जानकारी दिए।
दुई दशकभन्दा लामो समयदेखि गीत संगीतको यात्रामा रहेका मुकारूङका ‘विश्वासको बन्धन,’ ‘सक्सेस’, ‘संवाद’, ‘माहौल’, ‘चन्द्रमुखी,’ ‘एउटा सत्य’ लगायतका एल्बम बजारमा छन्। उनका ‘अँधेरीमा जून फूल्दा’, ‘खोर्सानी डल्ले’, ‘चन्द्रमुखी’, ‘ए सिम्मा’ लगायतका गीत चर्चित छन्। तीनै गीत गाएर धरानवासीलाई भरपुर मनोरञ्जन प्रदान गरिने मुकारुङको भनाइ छ।
सामाजिक सेवामा समेत समर्पित गायक मुकारुङले यसअघि भोजपुरे सेवा समाज काठमाडौंको आयोजनामा २०७९ असोज ६ गते पहिलो एकल सांगीतिक साँझ कार्यक्रम सम्पन्न गरेका थिए। सो कार्यक्रमले नेपाल ज्येष्ठ नागरिक संरक्षण संघ ट्याम्के मैयुङ ३ अन्नपूर्णले सञ्चालन गरिरहेको एम्बुलेन्स व्यवस्थालाई सहयोग पुगेको थियो।
२०७० सालमा स्थापना भएको भोजपुर सुनसरी सेवा समाजमा हालसम्म करिब १ हजार आजीवन सदस्य आवद्ध छन्। समाजले विपद् राहत, बिरामीको उपचार, स्वास्थ्य शिविर, रक्तदान, खेलकुद विकास, पर्यटकीयस्थल प्रचार जस्ता सामाजिक कार्य गर्दै आईरहेको कुरा अध्यक्ष रेवतीरमण राईले बताए।
मुकारुङको एकल साँझको लागि ५ सय, १ हजार, २ हजार र ५ हजार टिकट दर कायम गरिएको भीषण राई एकल साँझ प्रचार प्रसार समितिका सह संयोजक दिब्यासन घिमिरेले जानकारी दिए ।
























