१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी मिलाउन निर्देशन


२२ श्रावण २०८२, बुधबार  

4
Shares

काठमाडौं । देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ ।

संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप पौडेलको योजनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यु आरमार्फत डिजिटल भुक्तानीको व्यवस्था मिलाउन भनेको हो ।

मन्त्री पौडेलले अस्पतालहरुमा हुने भीड व्यवस्थापनका लागि नौ बुँदे सुधार योजना कार्यान्वयनमा लैजान पहल गरेका थिए । मन्त्री पौडेलले नागरिकलाई टिकट लिन तथा भुक्तानीका लागि सके सम्म कम सास्ती र भीड कम हुने गरी काम अघि बढाउन अधिकारीहरुलाई भनेका थिए ।

यसअन्तर्गत डिजिटल पेमेन्टलाई समेत अघि बढाइने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अनुगमन समेत गर्ने तयारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पतालहरुले मन्त्रालयसमक्ष जनाएको नौबुँदे प्रतिबद्धताअन्तर्गत नै भीड व्यवस्थापन गर्ने विषय समेत रहेको उल्लेख गर्दै अब अनुगमनमा कडाइ गर्ने बताए ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बुधबार  ५ : १० बजे