१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

जया मल्टिपल कलेज: कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न


३१ श्रावण २०८२, शुक्रबार  

4
Shares

गोकर्णेश्वर–८ माकलवारीस्थित जया मल्टिपल क्याम्पसले कक्षा ११ का नयाँ विद्यार्थीका लागि आयोजना गरेको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई औपचारिक रूपमा स्वागत तथा अभिमुखीकरणका लागि बिहीवार बौद्ध नयाँबस्तीस्थित ड्रीम हाउस ब्याङ्क्वेटमा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि लेखक तथा सफल व्यवसायी कर्ण शाक्यले विद्यार्थीलाई अहिले नै मेहनत र परिश्रममा लाग्नुपर्ने सुझाव दिनुभयो। उहाँले विदेशतर्फ होइन, मातृभूमिभित्रै सम्भावना खोज्नुपर्नेमा जोड दिनुभयो। “नोकर होइन, मालिक बन्ने सोच राख्नुपर्छ, र यो आफ्नै देशमै सम्भव छ,” उहाँले भन्नुभयो।

विशेष अतिथि संस्कृत भाषाका अध्येता तथा योग प्रशिक्षक डा. चिन्तामणि योगीले आफ्ना संस्कार, संस्कृति र माटोलाई सम्झेर देशप्रति सधैं उत्तरदायी बन्नुपर्नेमा जोड दिनुभयो।

विद्यार्थीहरुलाई स्वागत गर्दै क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलले राष्ट्रिय भावनासहित समयको महत्व बुझेर अध्ययनमा जुट्नुपर्ने बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षा र क्षमता अभिवृद्धिका लागि क्याम्पस निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मनकामना सेकेन्डरी स्कुलका प्रिन्सिपल जनन देवकोटाले जीवनमा स्पष्ट लक्ष्य निर्धारण, निरन्तर परिश्रम र सकारात्मक सोचको महत्त्व विद्यार्थीमाझ राख्नुभयो।

कार्यक्रमको आकर्षणका रूपमा चर्चित गायिका शितल मोक्तानलगायत कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए। साथै, कक्षा १२ का विद्यार्थीहरूले नृत्य, गायन तथा अन्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

जया मल्टिपल क्याम्पसका प्रमुख जगनाथ देवकोटाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न शिक्षक तथा शैक्षिक व्यक्तित्वहरूले धारणा राखेका थिए।

कार्यक्रम सञ्चालन क्याम्पसका एकेडेमिक प्रमुख गणेश धितालले गर्नुभएको थियो।

सन् २०६१ सालदेखि निरन्तर रूपमा काठमाडौंको पूर्वी क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जया मल्टिपल कलेज आज प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा परिचित छ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शुक्रबार  १२ : ५५ बजे