काठमाडौँ । किरात खालिङ राई उत्थान संघको २४ औँ वार्षिकउत्सबको अवसरमा आयोजना गरिएको ‘खालिङ भाषिक खुला कविता प्रतियोगीता’मा रविन खालिङ प्रथम भएका छन् । ‘थ्योक्ला’ कविताबाट प्रथम भएका सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १ छिगाउँका रविनले नगद २० हजार पुरस्कार हात पारेका छन् ।
प्रतियोगीतामा सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका २ ठूलोढुंगाका मज्जला ख्याल द्धितीय भएका छन् । ‘ल्योङ्म्य’ कविता प्रस्तुत गरेका उनले नगद १५ हजार पुरस्कार जिते । माप्य दुधकोशी गाउँपालिका ३ लेम्चीका एका प्रसाद खालिङ ‘राम्रीसे’ तृतीय भएका छन् । उनको ‘देलकम’ कविताले नगद १० हजार पुरस्कार जितेको किरात खालिङ राई उत्थान संघका केन्द्रीय अध्यक्ष बल बहादुर खालिङले जानकारी दिए । प्रतियोगीताका अन्य ७ प्रतिस्प्रर्धीलाई नगद ५ हजारको दरले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।

काठमाडौँस्थित सुकेधारा आयोजित कार्यक्रममा चित्रकार द्धय राज कुमार र कञ्चन खालिङलाई सम्मान गरिएको छ । उनीहरुले आदिम पुर्खा ‘निनम रिदम र ख्याम्दा’को चित्र बनाएका थिए । त्यस्तै, खालिङ समुदायबाट सगरमाथाको सफल आरोहण गर्ने पञ्चे खालिङ, टेक बहादुर खालिङ र मिलन खालिङलाई पनि सम्मान गरिएको छ ।
वार्षिक उत्सबकै अवसरमा परराष्ट्र सचिव अमृत बहादुर खालिङले स्वर्गीय पिताको नाममा ४ लाखको ‘इन्द्र बहादुर खालिङ राई स्मृती अक्षयकोष’ स्थापना गरेका छन् । त्यस कोषबाट प्राप्त हुने व्याज रकम खालिङ खोज अनुसन्धानमा प्रयोग गरिने छ ।

त्यस्तै, शुक्रबार नै खालिङ भाषाको कविता संग्रह ‘न्वामस्याम’ सार्वजनिक गरिएको छ । जहाँ संस्थाको २३ औँ वार्षिक उत्सब अवसरमा आयोजित प्रतियोगीतामा सहभागी २५ प्लस खालिङ भाषिक कविता संग्रहित गरिएको छ ।
कविता प्रतियोगीताको निर्णायकमा कवि तथा लेखक, कलाकार उपेन्द्र सुब्बा, यादब खालिङ, बिना खालिङ र अर्जुन खालिङ रहेका थिए । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यता तथा किरात खालिङ राई उत्थान संघका अध्यक्ष बलबहादुर खालिङको अध्यक्षतामा सम्पन्न भएको हो ।





े

























