सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाले जिल्लामै पहिलो पटक शिक्षकहरुलाई स्थानीय भत्ता उपलब्ध गराएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२/८३ को अधिनमा रही नगरपालिकाले स्वीकृत दरबन्दीका शिक्षकहरुमध्ये जिल्ला भित्रका लागि २५ प्रतिशत र जिल्ला बाहिरका लागि सतप्रतिशत स्थानीय भत्ता उपलब्ध गराएको शिक्षा शाखाका सन्तोष राउतले जनाएका छन् ।
कार्यविधिमा शिक्षकहरुले वर्ष भरीको १० महिना १५ दिनको स्थानीय भत्ता पाउने व्यवस्था छ । सोलुखुम्बुलाई ‘ग’वर्गमा राखिएको छ ।
मेयर नाम्गेल जाङबु शेर्पाले शिक्षकहरुलाई स्थानीय भत्ता वितरण गर्ने जिल्लाकै पहिलो पालिका भएको दाबी गरे । सानदार मिडियासँग कुरा गर्दै मेयर शेर्पाले भने, ‘कार्यविधिले दिनु भनेको सुविधा दिएका हौँ । यसले शिक्षकमा थप ऊर्जा थप्छ भन्नेमा विश्वस्त छौँ ।’ शैक्षिक गुणस्तर सुधारमा समेत टेवा पुग्ने उनको विश्वास छ ।

























