१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

माप्यदुधकोशीमा युवा लक्षित खेलकुद महोत्सव: अध्यक्ष राईले भने, ‘खेलकुदलाई विकासको आधारस्तम्भ’


२६ आश्विन २०८२, आइतबार  

4
Shares

सोलुखुम्बु । युवाको क्षमता अभिवृद्धि र समग्र विकासका लागि माप्यदुधकोशी गाउँपालिकामा आइतबारदेखि विभिन्न खेलकुद प्रतियोगिताको शुभारम्भ गरिएको छ। गाउँपालिकाको सक्रिय पहल र राष्ट्रभूमि विकास क्लबको संयोजनमा सुरु भएको उक्त महोत्सवमा फुटसल, ब्याडमिन्टन र चेस खेल समावेश गरिएको छ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले उद्घाटन समारोहमा बोल्दै खेलकुदले युवा पुस्तामा आत्मविश्वास, अनुशासन र नेतृत्व क्षमताको विकासमा ठूलो योगदान पुर्‍याउने बताए। उनका अनुसार “राष्ट्रले खेलकुदमा लगानी बढाउन सके युवालाई सिर्जनशील, अनुशासित र जिम्मेवार नागरिक बनाउने वातावरण तयार हुन्छ।”

राष्ट्रभूमि विकास क्लबका अध्यक्ष प्रदीप राईका अनुसार प्रतियोगितामा ब्याडमिन्टनका विभिन्न विधामा ७६ खेलाडी, फुटसलतर्फ १० टिम र चेसतर्फ ११ टिम सहभागी छन्। उनले खेलकुदमा युवाको उत्साहजनक सहभागिताले गाउँमा सकारात्मक ऊर्जा ल्याएको बताए।

उद्घाटन समारोहमा गाउँपालिकाका उपाध्यक्ष गौरव राई, वडा नम्बर २ का अध्यक्ष चन्द्रबहादुर राई, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रमकै क्रममा विद्यालयस्तरमै खेलकुदको विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका खालि माध्यमिक विद्यालयका प्रधानाध्यापक मानबहादुर राई र दिपेन्द्र आधारभूत विद्यालयका प्रधानाध्यापक कुमार राईलाई सम्मान गरिएको थियो।

अध्यक्ष राईले माप्यदुधकोशी गाउँपालिकाले खेलकुदमार्फत युवाको क्षमता अभिवृद्धिमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउँदै भने, “हाम्रो लक्ष्य केवल खेलाडी उत्पादन गर्नु होइन, आत्मनिर्भर र जिम्मेवार युवा पुस्ता तयार पार्नु हो — र खेलकुद त्यसको मेरुदण्ड हो।”

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ७ : ४५ बजे