काठमाडौँ । तेस्रोलिंगीको कथामा आधारित फिल्म ‘चिराग’को ट्रेलर रिलिज गरिएको छ ।
हाइलाइट्स नेपालमार्फत रिलिज ट्रेलरमा समाजमा अपहेलित तेस्रोलिंगीको कथालाई बेजोड ढंगले उठान गरिएको छ । तेस्रोलिंगीहरु सेक्स वर्कर बनेर मात्रै जीवनयापन गर्न सक्छन् भन्ने भ्रमलाई चिर्न खोजिएको एक तेस्रोलिंगीको कथालाई बुनिएको छ ।
फिल्मको मुख्य भूमिकामा त्यागमूर्ति देखिएका छन् । फिल्मको लेखन र निर्देशन पनि उनैले गरेका हुन् । फिल्ममा ‘आशाको चिराग कहिल्यै निभ्दैन’ भन्ने ट्यागलाइन राखिएको छ ।
आगामी मंसिर ५ गते प्रदर्शनमा आउने फिल्ममा सुशील पोखरेल, प्रज्ञा जोशी, सुभास गजुरेल, शेरबहादुर डिसी, ‘मेरी बास्सै’का सापटी काका, मिनाक्षी खनाल, संकला गौतम, माधव खनाल, एमके आचार्य र बाल कलाकार सागर खरेलको अभिनय रहेको छ।
डेढ करोड लागतमा तयार भएको फिल्ममा निर्देशक त्यागमूर्तिकै संगीत र कोरियोग्राफी रहेको छ। महफूज अंसारी र राहुल राईले छायांकन गरेको यस फिल्ममा सम्पादन सुवास देवकोटा, ब्याकग्राउन्ड संगीत लोकनाथ सापकोटा, शृङ्गार डिके हमाल र रंग संयोजन कल्पेश विश्वकर्माले गरेका छन्।
फिल्ममा निर्देशक त्यागमूर्तिसहित संकला गौतम र नरेश प्रसाद भट्टको लगानी रहेको छ। फिल्मको यसअघि दुई गीत ‘फूल बनी फुल्थे’ र ‘बसन्ती’ सार्वजनिक गरिसकिएको छ ।


























