१६ पुस २०८२, बुधबार | Thu Jan 1 2026

चलचित्र ‘बम बिहारी’ शुभमुर्हत



काठमाडौँ । नयाँ नेपाली चलचित्र ‘बम बिहारी’को शुभ मुर्हत गरिएको छ । आज (बुधबार) भक्तपुरमा रहेको हनुमान मन्दिरमा पुजा गर्दै चलचित्रको मुर्हुत गरिएको हो । साथै चलचित्रको आजैबाट छायांकन सुरु गरिएको छ । चलचित्रलाई डिएमएस मल्ले निर्देशन गर्दैछन् । उनको यो डेब्यु निर्देशकिय चलचित्र हुनेछ । उनले यो भन्दा अघि झण्डै ५० वटा म्युजिक भिडियोको निर्देशन गरेका छन् ।

चलचित्रको छायांकन तालिका एक महिना राखिएको निर्देशक मल्लले जानकारी दिएका छन् । उनका अनुसार छायांकन काठमाडौंसँगै नेपालगन्जमा पनि हुनेछ । सुरुमा काठमाडौंमा एकसाताको छायांकन चलचित्र युनिट नेपालगन्ज लाग्नेछ । नेपाली भूमिको आमा र भारतीय भूमिको बुबाको एक छोराको कथा ‘बम बिहारी’मा छ । ‘बम बिहारी’ एक पात्रको नाम हो । उनकै वरिपरी चलचित्रको कथा घुम्नेछ ।

निर्देशक मल्लले भने, ‘पछिल्लो समय चलचित्रमा नयाँ कलाकार भएपनि कथा र मेकिङ राम्रो छ भने दर्शक हलसम्म गएको उदाहरण धेरै छन् । त्यसैले मलाई विश्वास छ चलचित्र राम्रो हुनेछ र दर्शकलाई मन पर्नेछ ।’ चलचित्रमा कथा र लगानी पनि निर्देशक डिएमएस मल्लकै रहनेछ ।

चलचित्रमा सुरबिर पण्डित, सुमन ज्योती न्यौपाने (ल्यांग्री दादा), ध्रुब बुढाथोकी, झरना रिसाल, सन्ध्या श्रेष्ठ, पुस्कर राउत र सम्राट क्षेत्रीको अभिनय रहनेछ । पछिल्लो समय थुप्रै म्युजिक भिडियोमा ब्यस्त कलाकार सुमन ज्योती न्यौपानेले चलचित्रमा आफू नकारात्मक भूमिकामा देखिन लागेको स्पष्ट पारे । उनले भनेका छन्, ‘म यो फिल्मको बम बिहारी हुँ अर्थात टाइटल नै मेरो नाम हो । दर्शकले अहिलेसम्म सबैतिर नेगेटिभ भूमिकामै मन पराइदिनुभएको छ । यसमा पनि आशाराखेको छु ।’

यस्तै अर्की मुख्य कलाकार झरना रिसालले सातबर्ष पछि आफूले चलचित्रमा फेरी काम गर्न लागेको जानकारी दिइन् । उनले यसअघि ‘भूमि द ग्रेट लेडी’, ‘परिणाम’ र ‘कसलाई आफ्नो भन्नु’ चलचित्रमा काम गरिसकेकी छिन् । झरनाको यो चौथो चलचित्र रहनेछ ।
सुरेन्द्र बसेलको कोरियोग्राफी रहने चलचित्रमा सरोज बुढाथोकीको मेकअप रहनेछ । सुमन काफ्ले प्रोडक्सन म्यानेजर रहेको ‘बम बिहारी’ रामेश्वर हुमागाईंको टिमले खिच्दैछ भने गौतमराज खड्काले सम्पादन गर्दैछन् । मुख्य सहायक निर्देशक बिनयराज पौडेल हुन् भने सहायक निर्देशक पुरुषोत्तम पण्डित हुन् । चलचित्रमा अनुपम चौधरीको गीत रहनेछ । चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १० : ४४ बजे