४ माघ २०८२, शनिबार | Sat Jan 17 2026

सज्जन राज वैद्यको भव्य साङ्गीतिक प्रस्तुति सँगै नेसनल लिग २०८२ को ग्रान्ड ओपनिङ



काठमाडौँ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा माघ ३० गते बुधवारदेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता सुरु हुँदै छ ।

राष्ट्रिय लिग फुटबलमा ए डिभिजनका १३ टोलीसँगै एन्फा प्रेसिडेन्ट लिगबाट आएका चार टोली गरी १७ टोलीको सहभागिता रहनेछ । सिङ्गल राउन्ड रोविनका आधारमा खेलाइने लिगमा कूल १३६ खेल हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा काँक्रेविहार यूथ क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् । सोही दिन श्री भगवती र चर्च ब्वाइज क्लबबिच पनि खेल हुनेछ । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छ ।

माघ २ गते शुक्रवार दशरथ रङ्गशालामा हुने मच्छिन्द्र क्लब र एनआरटी खेल अगाडि चर्चित गायक सज्जन राज वैद्यले साङ्गीतिक प्रस्तुति दिने भएका छन् । सज्जन राज वैद्यको भव्य साङ्गीतिक प्रस्तुति सङै नेसनल लिग २०८२ को ग्रान्ड ओपनिङ हुने छ । वैद्य युवामाझ निकै लोकप्रिय गायक हुन् ।

एन्फाले ४८ खेलसम्मको मिति र खेल स्थलसमेत तोकेको छ भने ६४ खेलसम्मको मिति पनि तय गरेको छ । बाँकी ७२ खेलको मिति तय हुन बाँकी छ ।

राष्ट्रिय लिगका खेलहरू उपत्यकाको तीन मैदान दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा हुनेछ । राष्ट्रिय लिगको विजेताले नगद ५० लाख पुरस्कार पाउने एन्फाले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

राष्ट्रिय लिग फुटबल प्रतियोगिताको लाइभ स्ट्रिम एमएसन भिडियो एपबाट हुने छ । यो एपमार्फत राष्ट्रिय लिग फुटबल प्रतियोगिता नेपालमा हेर्न तीन महिनासम्म ८९९ रुपैयाँ र विदेशमा तीन महिनासम्म १५ डलर तोकिएको छ । एमएसन भिडियो मा अहिलेका सुपर हिट नेपाली चलचित्रहरू हेर्न पाइन्छ । एमएसन भिडियो एप टिभीमा पनि सजिलै डाउनलोड गरेर हेर्न सकिन्छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १ : १७ बजे