११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

सकियो चामुण्डाको रथयात्रा, गोकर्णेश्वरका विभिन्न टोल परिक्रमा


१२ चैत्र २०८२, बिहिबार  

0
Shares

काठमाडौँ । गोकर्णेश्वरबासीको इष्ट देवता, विश्वासको धरोहर । ४३ वर्षदेखि चामुण्डाको रथयात्रा यो वर्ष पनि भव्यताका साथ सकिएको छ । पञ्च बली र पूजामा सिमित हुदै आएको चामुण्डामा २०४० साल देखि रथयात्राको संस्कार सुरु गरिएको हो ।

काठमाडौंको गोकर्णेश्वर क्षेत्रमा प्रत्येक वर्ष विशेष धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको रूपमा मनाइने चमुण्डा रथयात्रा स्थानीय समुदायको पहिचानसँग गाँसिएको महत्वपूर्ण जात्रा हो। विशेषगरी हिन्दू धर्मावलम्बीहरूले देवी शक्तिको आराधनाका रूपमा मनाउने यो रथयात्रा समयसँगै सांस्कृतिक सम्पदाका रूपमा स्थापित हुँदै गएको छ। यसको संरक्षण, व्यवस्थापन र प्रर्वद्धनमा स्थानीय सरकार गोकर्णेश्वर नगरपालिकाले अग्रणी भूमिका खेल्दै आएको छ ।

चमुण्डा देवीलाई शक्तिकी प्रतीकका रूपमा पूजा गरिन्छ। चमुण्डा देवी दुर्गाको उग्र रूप मानिन्छ, जसले दुष्ट शक्तिमाथि विजय प्राप्त गर्ने विश्वास गरिन्छ। स्थानीय जनविश्वासअनुसार देवीको रथयात्रा निकाल्दा गाउँ–समाजमा शान्ति, समृद्धि र रोगव्याधिबाट मुक्ति मिल्ने मान्यता छ।

यो जात्रामा काठले बनाइएको रथमा देवीको प्रतिमा राखी गोकर्णेश्वरका विभिन्न टोल परिक्रमा गराइन्छ। बाजागाजा, धिमे, नाचगान र भक्तजनहरूको उल्लेख्य सहभागिताले जात्रालाई जीवन्त बनाउँछ। विशेषगरी युवाहरू रथ तान्ने कार्यमा सक्रिय रूपमा सहभागी हुने परम्परा रहँदै आएको छ।

स्थानीय गुठी, आमा समूह, युवा क्लब तथा बासिन्दाहरूको सक्रिय सहभागितामा रथयात्रा सञ्चालन हुने गर्दछ। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यो परम्पराले समुदायबीच एकता र सहकार्यको भावना बलियो बनाउने काम गरेको छ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ९ : ४३ बजे