काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रदेश–प्रदेशका सांसदहरूसँग प्रत्यक्ष संवाद गरेका छन् । सोही क्रममा कोशी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग भेटघाट गर्दै उनले विकासका प्राथमिकता, स्थानीय आवश्यकता र जनअपेक्षा समेटेर सुझाव मागेका थिए ।
छलफलका क्रममा सोलुखुम्बुबाट निर्वाचित सांसद प्रकाश सिंह कार्कीले जिल्लाको समग्र विकासका लागि विकासका वभिन्न एजेण्डा प्रस्तुत गरेका छन्। उनले भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, पर्यटन र सञ्चार क्षेत्रसम्मका महत्वपूर्ण योजनाहरू अघि सार्दै तीव्र कार्यान्वयनमा जोड दिएका छन्।

सोलुखुम्बु विकासका प्रमुख एजेण्डा
१, बिपी राजमार्ग हुँदै सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ जोड्ने सडकको स्तरोन्नति, कालोपत्रे तथा वर्षौँदेखि निर्माणाधीन पुलहरू अविलम्ब सम्पन्न गर्नुपर्ने।
२, खुम्बुपासाङल्हमु र सोताङ गाउँपालिकामा विद्युत् सबस्टेसन निर्माण गरी कालापत्थरसम्म १३२ KBA लाइन विस्तार गरेर विद्युत् पहुँच सहज बनाउने।
३, दुधकोशी करिडोर निर्माणलाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन अघि बढाउने।
४, ‘गोल्डेन सगरमाथा सडक’ स्तरोन्नति, कालोपत्रे तथा सदरमुकामबाट सबै गाउँपालिकालाई पक्की सडक सञ्जालमा जोड्ने।
५, बर्खुघाट, दिलिघाट, अधेरी लगायतका DPR तयार भइसकेका तथा निर्माणाधीन मोटरेबल पुलहरू निर्माणमा तीव्रता दिने।
६, फाप्लु अस्पतालमा ब्लड बैंक स्थापना, सुविधा सम्पन्न एम्बुलेन्स व्यवस्था तथा प्रत्येक पालिकामा अस्पताल स्तरोन्नति र आवश्यक स्थानमा नयाँ अस्पताल निर्माण।
७, शुद्ध खानेपानीको पहुँच जिल्लाभर विस्तार गर्ने।
८, प्रत्येक गाउँपालिकामा कृषक उत्पादनको बजारीकरणका लागि निःशुल्क कृषि एम्बुलेन्स व्यवस्था गर्ने।
९, NTC नेटवर्क जिल्लाभर विस्तार गरी सञ्चार पहुँच सुनिश्चित गर्ने।
१०, बाँदर नियन्त्रणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने।
११, विद्यालय सुधार गर्दै वैज्ञानिक शिक्षा र गुणस्तरीय शिक्षण सिकाइमा जोड दिने।
१२, सोलुखुम्बुको पर्यटन विकासका लागि ७२ सिट क्षमताको विमानस्थल सम्भाव्यता अध्ययन गरी निर्माण प्रक्रिया अघि बढाउने।
१३, नेचासल्यानमा निर्माणाधीन CTEVT स्वीकृत कलेजलाई तीव्रताका साथ सम्पन्न गरी सञ्चालनमा ल्याउने, लगायत ।
प्रधानमन्त्री बालेन्द्र शाहले कुनै पनि निर्वाचन क्षेत्रलाई विभेद नगरी योजना र बजेट विनियोजन गर्नेमा सरकारको ध्यान जाने बताएको सांसद कार्कीले जनाए ।

























