काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले मिसन रोजगारी अभियान अन्तरगत युवाहरुलाई सीप सिकाउदै रोजगारीका लागि सहजीकरण गर्दै आएको छ । नगरपालिकाको सहयोगमा शंखरापुर बहुप्राविधिक शिक्षालयमा विद्युतीय सवारी मर्मत तालिम सम्पन्न गरिएको छ ।
६५ दिन (३९० घण्टा)लामो तालिममा गोकर्णेश्वरका ३० युवाहरु सहभागी थिए । शुक्रबार आयोजित समापन कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले नगरले मिसन रोजगारी भियान चलाएरै हातमा सीप नभएकालाई सीप सिकाउने र दक्षताको आधारमा स्वरोजगारी र रोजगारी सृजनाका लागि सहजीकरण गर्दै आएको दाबी गरे ।

उनले भने, हामीले फरक तरिकाले काम गर्दै आएका छौँ । बजारमा बिक्ने र माग भइरहेका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र रोजगारीको माहोल बनाइदिने स्थानीय सरकारको दायित्व हो ।
गोकर्णेश्वरका शिक्षा शाखा प्रमुख वीर बहादुर खड्काले हातमा सीप भएपछि स्वरोजगार बन्न, रोजगारी गर्न र वैदेशिक रोजगारीका लागि पनि सुरक्षित ढोका खोल्ने भएकाले नगरले त्यसको अग्रसरता लिएको बताए ।

शंखरापुर बहुप्राविधिक शिक्षालयका प्रमुख प्रदिपराज बसौलाले तालिम लिएका युवाहरु मिलेर सहकारी भावनाले विद्युतीय सवारी मर्मतको लागि वर्कसप खोलेर स्वरोजगार बन्न सुझाव दिए ।

गोकर्णेश्वर नगरपालिकाले समसामयिक बन्दै एक घर एक रोजगारीलाई मुर्त रुप दिन प्रविधिमैत्री तालिम प्रदान गर्दै आएको छ । समापनमा तालिमका सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

































