काठमाडौँ — समानुपातिक सांसद रिना उप्रेती केसी ले प्रधानमन्त्री बालेन्द्र शाह सँगको भेटमा सोलुखुम्बुको विकास, पूर्वाधार निर्माण तथा समुदायका अधिकारसँग सम्बन्धित महत्वपूर्ण विषयहरू उठाएकी छन्।
प्रधानमन्त्रीले विभिन्न ११० जना सांसदसँग गरेको भेटका क्रममा छोटो समय पाएकी सांसद उप्रेतीले खालिङ र कुलुङ समुदायको सूचीकरणदेखि पर्यटन रोयल्टीको न्यायोचित बाँडफाँडसम्मका विषयमा ध्यानाकर्षण गराएकी हुन्।
उनले विशेषगरी सोलुखुम्बुको दीर्घकालीन विकासका लागि सडक सञ्जाल विस्तार र स्तरोन्नतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्। स्वर्ण सगरमाथा वृहत चक्रपथ अन्तर्गत ओखलढुंगा–सोलु–खोटाङ (दिक्तेल) जोड्ने ‘गोल्डेन ट्रयाङगल’ सडक समयमै सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन गर्नुपर्ने उनको माग थियो।
यस्तै, सल्लेरी–टाक्सिन्दु–खरीखोला–लुक्ला–चौरिखर्क सडक स्तरोन्नति तथा कालोपत्रे, जिरी–ठोसे–शिवालय–किन्जा–लामाजुरा हुँदै सल्लेरी सडक सुधार, बर्खघाट–दिप्लीघाट–कायाघाट हुँदै वाप्सा–खरिखोला सडक निर्माण लगायतका योजनालाई तीव्रता दिनुपर्ने उनले उल्लेख गरिन्।
सांसद उप्रेतीले सल्लेरी–सोताङ–गुदेल–साल्पापोखरी–मयुङ–टेम्के–भोजपुर–बेल्टार (२०८ किमि) सडक, हलेसी–ऐसेलुखर्क–लुक्ला सडक जस्ता ठूला परियोजनाहरू पनि कार्यान्वयनमा लैजान आवश्यक रहेको बताइन्।
त्यसैगरी, सल्लेरी–सिल्गुडीडाँडा–बासा सडक निर्माणमा ठेक्का लागेर पनि भुक्तानी अभावका कारण काम रोकिएको भन्दै तत्काल भुक्तानी व्यवस्थापन गरी काम अघि बढाउन आग्रह गरिन्। राजधानीबाट सल्लेरी जोड्ने साल्मे–सिस्नेरी खण्डमा बारम्बार पहिरो जाने समस्या समाधानका लागि सुरुङ मार्ग निर्माणको विकल्प पनि उनले अघि सारिन्।
मोटरेबल पुलतर्फ सोलुखोला पुल (डिजाइन सम्पन्न), दुधकोशी नदीको बखुघाट पुल, दिप्लीघाट तथा सिकुखोला पुल छिटो निर्माण गर्नुपर्ने माग पनि उनले राखिन्।
सांसद उप्रेतीले सोलुखुम्बुजस्तो पर्यटकीय सम्भावना बोकेको जिल्लामा पूर्वाधार विकास, स्थानीय समुदायको पहिचान र स्रोतको न्यायोचित वितरणलाई एकसाथ अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै सरकारको ध्यानाकर्षण गराएकी छन्।
सांसद रिना उप्रेती केसीले प्रधानमन्त्री समक्ष राख्नुभएको विकास एजेन्डाहरूको सूची




























