काठमाडौँ । गायक प्रताप दास को स्वरमा रहेको ‘धोका’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भिडियोमा मोडल सुशान्त ढकाल र स्मारिका ढकाल को अभिनय देख्न सकिन्छ।
प्रेममा हुने धोका र त्यसपछि पैदा हुने बदलाको भावलाई प्रस्तुत गरिएको भिडियोमा सुशान्त यसपटक फरक शैलीमा देखिएका छन्। सामान्यतया स्लिम र फिट देखिने उनी यस भिडियोमा भने हल्का मोटा र भिलेनको भूमिकामा प्रस्तुत भएका छन्। उक्त भूमिकाका लागि उनले विशेष रूपमा तौल बढाएको बताएका छन्।
निर्देशक केशवराज भट्ट का अनुसार कथालाई अझ रोचक बनाउन स्मारिकालाई डबल रोलमा प्रस्तुत गरिएको छ। उनले आफ्ना अन्य कामभन्दा यस भिडियोमा बढी मेहनत गरेको पनि बताएका छन्।
सुशान्तले ‘निधारैमा टिकी’, ‘दिलमाया’, ‘तिम्रो माया’, ‘एक चोटी त बोलीदेउ’ लगायत ४ दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। कम प्रोजेक्ट मात्र छनोट गर्ने उनी बलिउड गीत ‘Tujhme Khoya Tujhme Paya’ मा काम गरेपछि झन् उत्साहित देखिएका छन्। उनले बलिउड गायक सोनु मिश्र को गीतमा पनि अभिनय गरिसकेका छन्।
गीतका शब्द विष्णु भण्डारी का हुन् भने संगीत सरोज पोखरेल ले दिएका हुन्। एरेन्ज, मिक्सिङ तथा मास्टरिङ दिवेश राई ले गरेका छन् भने कोरियोग्राफी दिनेश पराजुली को रहेको छ।
उक्त भिडियो संगीतकार सरोज पोखरेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो, जसले यतिबेला दर्शकमाझ राम्रो चर्चा बटुलिरहेको छ।

























