काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले एसईईमा ४ जीपीए प्राप्त गरेका ७५ जना विद्यार्थीलाई निःशुल्क रूपमा कक्षा ११ र १२ अध्ययन गराउने व्यवस्था गरेको छ।
गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक कुमार रिसालद्वारा जारी गरेको सूचनाअनुसार शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा ४ जीपीए प्राप्त गरेका विद्यार्थीहरूलाई नगरभित्र सञ्चालित ४५ वटा सामुदायिक तथा संस्थागत विद्यालयमध्ये आफूले छनोट गरेको विद्यालयमा निःशुल्क अध्ययनको अवसर प्रदान गरिने भएको हो।
नगरपालिकाले योग्य विद्यार्थीहरूलाई माध्यमिक तहको अध्ययनमा प्रोत्साहन गर्न उक्त व्यवस्था गरिएको जनाएको छ। साथै सम्बन्धित सेवाको थप जानकारीका लागि विद्यार्थी तथा अभिभावकलाई आफूले रोजेको विद्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।


























